अन्नपूर्ण गाउँपालिकाले किन्यो किसानसँग २० लाखको कोदो


जमुना वर्षा शर्मा
पोखरा , ११ जेठ : बन्दाबन्दी पार्न सक्ने दीर्घकालीन असरलाई ध्यान दिदै कास्कीको अन्नपूर्ण गाँउपालिकाले किसानसँग पाँचसय मुरी कोदो किनेर जोहो गरेको छ ।
गाउँपालिकाले स्थानीय उत्पादनलाई जोड दिन ११ वटा वडाबाट करिब पाँच सय मुरी कोदो संकलन गरेको गाउँपालिकाका प्रमुख युवराज कुँवरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बन्दाबन्दीको तत्कालको समस्या भन्दा पनि, दीर्घकालिन खाद्य संकटलाई ध्यान दिएर लामो समयसम्म नबिग्रने कोदो किसानबाट खरिद गरेका हौ ।” उहाँले किसानबाट प्रति मुरि ४ हजारको दरले करिब २० लाखको कोदो गाउँ पालिकाले खरिद गरेको जानकारी दिनुभयो ।
गाउँपालिकालाई आत्मनिर्भर बनाउने सोच बनाउन स्थानीय उत्पादनलाई नै प्रवद्धर्न गर्न सोच गाउँपालिकाको रहेको अध्यक्ष कुँवरले बताउनुभयो । उहाँले आधुनिक कृषि प्रणाली अवलम्बन गरेर उत्पादनमा जोड दिने नीति अनुरुपनै गाँउपालिका अगाडि बढेको उहाँको भनाइ छ । कुँवरले भन्नुभयो “स्वास्थ्यवद्र्धक मानिने कोदोमा रोग प्रतिरोधात्मक क्षमता हुने विभिन्न अध्ययन अनुसन्धानमा देखाएको छ । यसलाई गाउँको समृद्धिसँग जोडेर ‘ब्राण्डिङ’ गर्ने अभ्यास हामी लागेका छौ ।”
कुँवरका अनुसार कोदोको प्रवद्र्धनका लागि भदौरे देउरालीमा ल्होसार पर्वको अवसर पारेर .गरिने कोदो महोत्सवमा विभिन्न कोदोका परिकार समेत प्रदर्शन हुँदै आएको छ । त्यसैगरी गाउँपालिकाले सबैभन्दा बढी कोदो उत्पादन गर्ने ११ वटा वडाका तीन तीन जना गरी ३३ कृषकलाई पुरस्कृत पनि गर्दै आएको छ ।
गत वर्ष सर्वाधिक ३७ मुरी कोदो उत्पादन गरेर उत्कृष्ट कृषक बन्न सफल रनबहादुर पुनले गाउँपालिको नीतिले कृषकलाई उत्पादनमा जोड दिन प्रेरणा मिलेको बताउनुभयो । पुनले भन्नुभयो “म खुशी छु, पुरस्कृत भएँ, पाँच हजार पाएँ, गाउँपालिकाले अहिले पाँच मुरी कोदो पनि खरिद ग¥यो, यस्तो कामले किसानलाई ऊर्जा मिल्छ ।” उहाँले गाउँपालिकोको कृषि रणनीति किसानमैत्री भएको बताउनुभयो ।
अध्यक्ष कुवँरले आगामी नीति तथा कार्यक्रममा पनि ठूला ठूला पूर्वाधार विकासका महत्वाकांक्षी योजना नराखी स्थानीय तहमा रोजगार सृजना गर्न सक्ने उत्पादन र निर्यातलाई बढी जोड दिने बताउनुभयो । “अहिले ठूला ठूला योजनाको बारेमा हामी जाँदैनौ, किसान प्रत्यक्ष लाभान्वित हुने कार्यक्रमलाई प्राथमिकतामा राख्नेछौ” उहाँले यो वर्ष करिब ३० हजार कागतीको बेर्ना उत्पादन गरेर वितरण गरेको जानकारी दिनुभयो “एउटा कागतीको बेर्ना हुर्काउन सके लैनो भैँसी बराबरको फाइदा हुने रहेछ , कागतीको उत्पादलाई पनि विशेष जोड दिएका छौँ ।” कुँवरले विभिन्न फलफुलहरु एभोगाडो, सुन्तला, अम्बा, अलैचीका विरुवा वितरण गरिएको पनि जानकारी दिनुभयो । हाइवेमानै कृषिको बिक्री केन्द्र राखेर कृषि उत्पादनको बजारीकरण कार्य अन्तिम चरणमा पुगेको बन्दाबन्दीको कारणले सुचारु हुन नसकेको उहाँको भनाइ छ ।
गाउँपालिकाका प्रमुख प्रशसकीय अधिकृत युवराज अधिकारीले पर्यटकीयसँगै कृषिलाई पनि विशेष प्राथमिकतामा राखेर उत्पादन बढाउने काम गरेको बताउनुभयो । उहाँका अनुसार अनुसार कृषि प्रणालीको विकास गरी उत्पादन बढाउन समूहमार्फत आउने ६० कृषकलाई हाते ट्रयाक्टर वितरण गरेका छ । त्यसैगरी गाँउपालिका परिसरमै नर्सरी तयार गरी कागती, अलैँची लगायतका बिरुवा उत्पादन गरेर कृषकलाई निःशुल्क वितरण गरिएको छ ।
अधिकारीले गाउँपालिकाको हालको बजेट ५८ करोड १० लाख छ । विनियोजित रकममध्ये रु एक करोड १५लाख कृषिलाई छुट्टाएको जानकारी दिनुभयो ।

Facebook Comments