आहा रारा गोल्ड कप चैत १७ देखि २८ सम्म

तस्विरः सुदर्शन रञ्जित

१९ औं सस्करणको आहा ! रारा गोल्ड कप चैत १७ देखि २८ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको छ ।

सहारा क्लव पोखराले एक पत्रकार भेटघाट मार्फत उक्त कुराको जानकारी दिएको हो । सो अवसरमा प्रतियोगिताको तयारी बारे जानकारी दिंदै क्लवका अध्यक्ष केशव बहादुर थापाले प्रतियोगितामा १२ टिमको सहभागिता रहने जानकारी दिए । उनले भने–“यद्यपी हामी कोभिड १९ को विषम परिस्थितीबाट अगाडी बढिरहेका छौं आशा छ हामीले भने जस्तै गरि विदेशी, स्वदेशी ए डिभिजनका क्लव तथा मोफसलका गरी १२ टिमको सहभागिता गराउने प्रयासमा छौं ।”

सहाराले प्रतियोगिताको तयारी बारे घोषणा गरे पनि पुरस्कार राशी, दर्शक सँख्या र टिकट दर भने कोभिड १९ को परिस्थितीलाई आकंलन गरेर मात्रै जानकारी गराउने अध्यक्ष थापाले बताए । तर उनले पुरस्कार राशीमा १९ औं सस्करणमा नघट्ने बताउँदै थप गर्ने बारे सहाराको बैठकबाट टुङ्गाउने बताए । अध्यक्ष थापाले १९ औं सस्करणका लागि विदेशी क्लव निमन्त्रणाका लागि प्रयास भइरहेको जानकारी दिंदै प्रतियोगितालाई रोचक बनाउने तर्फ क्लवले सोचिरहेको बताए ।कार्यक्रममा राष्ट्रिय ख्ेलकुद परिषद (राखेप)का सदस्य राजेश गुरुङले १९ औं आहा रारा गोल्डकपको सफलताको शुभकामना व्यक्त गर्दै पोखरा रंगशालामा २० हजार दर्शक संख्या पुर्याउने गरी काम शुरु गरिने बताए । उनले भने–“पोखराको पर्यटनलाई खेल क्षेत्रबाट समेत दिगो बनाउन रंगशालामा फ्लड लाइटको व्यवस्था अपरिहार्य रहेकोले राखेपले यसबारे काम अघि बढाउने तयारीमा छ ।”

सो अवसरमा सहारा युकेका महासचिब धनु थकालीले प्रतियोगिता सफल बनाउन सहारा युकेको तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउँदै प्रतियोगितामा वितरण गरिने पदकहरु युकेबाट ल्याउने गरी पहल गरिने बताए । अहिले कोभिड १९ को विषम परिस्थितीलाई समेत मध्ये नजर गर्दै सहाराका सदस्यहरु युकेबाट पोखरा आउने तयारी गरिरहेको उनले जानकारी दिए ।

कार्यक्रममा सहारा क्लवका महासचिब रामजी प्रसाद अधिकारी, वरिष्ठ उपाध्यक्ष हरिराम गुरुङ ‘सुरज’ लगाएतले प्रतियोगिताको विविध पक्षबारे जानकारी दिएका थिए ।

Facebook Comments