उमासाई भवनका घरधनिले दिए सटर भाडा सहुलियत

पोखरा, १२ चैत
विश्वव्यापी रुपमा देखिएको कारोना भाइरस (कोभिड १९) संक्रमणको कारण देखिएको संकटले घरभाडामा रहेका व्यवसायीमा मर्र्का परेको भन्दै पोखरा १० का एक घरधनीले भाडा सहुलियत गर्ने बताएका छन् ।
हस्पिटल चोकमा रहेको उमासाई भवनका घरधनीले आफ्नो भवनमा रहेको ४ वटा सटर भाडामा सहुलियत प्रदान गर्ने बताएका हुन् । उक्त भवनमा हाल गुरुङ सिटी फार्मेसी, विमा फार्मेसी, गण्डकी परी फार्मेसी र रिदम फार्मेसी सञ्चालनमा रहेका छन् ।
चैत महिना शुरु सँगै कोरोना भाइरसले जनजीवनलाई प्रभावित बनाएपछि त्यसले पेशा व्यवसायमा पनि असर पारेको छ । तोकिएको समयमा तोकिएको भाडा दिन असहज भएको बेला घरधनीले हाल ५० प्रतिशत भाडा मिनाहा गरिदिएकोमा आफुहरुलाई राहत महसुस भएको फार्मेसी व्यवसायी राम पौडेलले बताए ।
औषधि व्यवसायी संघका जिल्ला महासचिव पूर्णकाजी बस्नेतले विश्वभर कोरोना भाइरसका कारण आर्थिक क्षेत्र अस्तव्यस्त भएको अवस्थामा व्यवसायीको समस्या बुझेर भाडा सहुलियत दिएकोमा उमासाई भवनका धरधनी धन्यवादको पात्र भएको बताए । उनले भने “अहिले व्यवसायिकता भन्दा पनि सामाजिक उत्तरदायित्व महत्वपूर्ण हो । घरधनीले व्यवसायी साथिहरुलाई दिएको प्रतिवद्धताले साथीहरुलाई राहत भएको छ ।” यस्ता कार्यको अनुशरण अरु घरधनीले गर्न आवश्यक रहेको उनको भनाइ छ ।

Facebook Comments