कमलले ढाकेको कमलपोखरी, संरक्षणको पहल हुँदै

जमुना वर्षा शर्मा
पोखरा ,जेठ ६

पोखरा महानगरपालिका वडा नं १३ मा अवस्थित कमल पोखरीलाई यतिबेला कमलका बोटहरुले छपक्कै ढाकेको छ । कहिँकतै फुल्दै गरेका कमलफुलले तालको नामजस्तै पहिचान दिलाएको छ । तालैतालको शहरको रुपमा रहेको पोखरामा नौ वटा ताल रहेका छन् । त्यसमध्येको एक हो कमलपोखरी । तालको पर्याप्त संरक्षण र प्रचार प्रसारको अभावमा यो सुन्दर ताल पोखराको मुटुमै भएर पनि गुमनाम जस्तै छ ।
करिब ३२ रोपनी क्षेत्रफलमा फैलिएको यस ताललाई ३५ ÷३६ वर्ष अघि बुडुवा तालको रुपमा चिनिने गरेको स्थानीयबासी बताउँछन् । तालमा ढकमक्क फुल्ने कमल, विभिन्न जातका माछा, पानी हाँस, रङ्गीविरङ्गी चराहरु तालको विशेषता हुन् यद्यपि तालको उचित संरक्षण र संभार नहुँदा भने धेरै कुरा तालबाट हराइसकेको छ ।


रामसारमा सूचीकृत कमल पोखरीको बीचमा नागको मूर्ति छ । स्थानीयबासीका अनुसार यहाँ नागपञ्चमीका दिन बिशेष मेला लाग्ने गर्दछ । तालमा रहेको कमललाई नागपञ्चमीमा पुजा गरेर कमलको फुलपात घरमा लगेर राखेमा राम्रोफल हुने जनविश्वास समेत रहिआएको छ ।
तालको वरिपरि विश्वकर्मा समुदायको बाहुल्यता रहेकाले तालसंरक्षणको पहल पनि यसै समुदायबाट भएको देखिन्छ । तालको किनार भागमा निर्मित राधाकृष्ण, गणेश, नाग र बाबा विश्कर्माको मन्दिर रहेको छ भने, संगै दुईवटा पाटी रहेका छन् अधिकाँश विश्वकर्मा समुदायबाट निर्माण गरिएको छ ।
कमलपोखरी संरक्षण समितिका अध्यक्ष चित्रबहादुर विश्वकर्माले तालको अस्तित्व रक्षाका लागि विश्वकर्मा समुदायको ठूलो योगदान रहेको बताउनुभयो । “परापूर्व काल देखि रहिआएको ताल दिनप्रति खुुम्चदैँ जाँदा विश्वकर्मा समुदायले नै अगुवाई गरेर ताल संरक्षण लागिपरेका छन् अहिले पनि निरन्तर यसको संरक्षणमा जुटेका छन्” विश्वकर्माले भन्नुभयो “तत्कालिन सामाजिक अगुवा केशबहादुर विकको सल्लाहमा २०४८ सालमा आमासमूह मार्फत संरक्षण पहल भएको देखिन्छ । विसं २०५२ सालमा आमा समूहले प्रशासन कार्यालयमा दर्ता भएको थियो , उहाँले २०६४ सालबाट ताल संरक्षण समिति गठन गरेर तालको वरिपरि तारजाली लगाउने साथै यसको आधिकारिक सिमाङ्कनको विषयमा पनि पहल गरिरहेका छौँ ।”
तालको क्षेत्रफलको बारे उहाँका भन्नुहुन्छ “२०४२ सालको नापीले ३२ रोपनी भन्यो, पछि २०६४ सालमा राष्ट्रिय ताल संरक्षण समितिले जंगललाई समेत समेटेर एक सय ८२ रोपनी रहेको बताएको छ । तालको एकिन जग्गा कति हो भन्ने विषयमा अझै अन्यौलता छ । यस विषयमा पटक पटक महानगरलाई जानकारी गराइरहेका छौ ।” उहाँले तालको आधिकारी जग्गा पहिला पत्ता लगाएर सिमाङ्कन गरेपछि मात्रै अन्य पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभयो ।
उक्त वडाका वडाध्यक्ष दर्शन लामाले ताल संरक्षण र पूर्वाधार विकासका लागि ४० लाखको टेण्डर आव्हान भइसकेको र काम अघि बढेको बताउनुभयो । “निर्वाचित जनप्रतिनिधि आएपछि यसको संरक्षण र विकासको लागि पहल भएको छ, बन्दाबन्दीले अहिले काम हुन सकेका छैन, यसलाई प्राकृतिक सुन्दर पार्क बनाउने गुरुयोजनामा समेटिएको छ ।” लामाले भन्नुभयो ”आन्तरिक तथा बाह्य पर्यटकको आर्कषक गन्तव्यको रुपमा विकास गर्ने गरी सरोकारवाला बीच छलफल गरेर अघि बढेका छौँ ।” उहाँले तालको प्रवेशद्वार आर्कषक बनाउने, तालसम्मको बाटोलाई व्यवस्थित गर्दै सुन्दरको पार्कको रुपमा विकास गर्ने गुरुयोजना रहेको बताउनुभयो ।
लामाले ताल संरक्षण समतिमा एउटै समुदाय र एउटै परिवारले मात्रै संस्था चलाउँदै आएको बताउँदै ताल वरिपरिका अन्य समुदायका व्यक्तिको पनि जग्गा रहेकाले सबैलाई समावेश गरेर सबैको अपनत्व हुने गरी अघि बढ्ने प्रयास भएको जानकारी दिनुभयो ।

Facebook Comments