चलचित्र पत्रकार संघ कास्कीको कोषाध्यक्षमा अर्पण तिवारी चयन


पोखरा । चलचित्र पत्रकार संघ कास्कीको रित्त कोषाध्यक्ष पदमा अपर्ण तिवारी चयन भएका छन् । बुधबार बसेको पहिलो बैठकले उनलाई चयन गरेको हो । तिवारी बिग एफएममा आबद्ध छन् ।

चलचित्र पत्रकार संघ कास्कीको चौथो अधिवेशनमा उनी कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए । संघका अध्यक्ष अरुण गिरीले तिवारीलाई कोषाध्यक्षमा चयन गरिएको जानकारी गराएका हुन् । संघको सल्लाहकारमा पोखरा फिल्म सोसाइटीका अध्यक्ष जितेश प्रधान, पत्रकार राजाराम पौडेल र मिडटाउन ग्यालरीका सञ्चालक उत्तम द्धा लाई चयन गरिएको छ ।

संघले आगामी दिनमा पुराना कार्यक्रमको निरन्तरता सँगै पोखरामा चलचित्र सम्बन्धी नयाँ गतिविधि गर्ने निर्णय गरेको जानकारी गिरीले दिए । ‘हामी छिट्टैनै चलचित्र पत्रकारिता पुरस्कारको स्थापना गर्दैछौ’, उनले भने,‘पुरस्कारले पोखरा लगायत गण्डकी प्रदेशका पत्रकारहरुलाई रंगपत्रकारितामा प्रोत्साहन मिल्नेछ ।’

यसका लागि आवश्यक लबिङ भइरहेको उनले बताए । संघले आगामी दिनमा नेपाली चलचित्र सँगै पोखरामा निर्माण हुने भाषाभाषीका चलचित्र सम्बन्धी गतिविधिमा समेत सहकार्य गर्नेछ । गण्डकी प्रदेशका नयाँ रमणीय पर्यटकीय स्थलको भ्रमण गरी सुटीङ स्थलको रुपमा प्रचारप्रसार गर्न चलचित्र पत्रकार संघले टेवा पुर्याउने प्रतिबद्धता उनको थियो ।

Facebook Comments