जनैपूर्णिमा,तथा रक्षाबन्धन

हरेक वर्षझैँ यो वर्ष पनि नेपालीको विशेष चाड जनैपूर्णिमा यही १९ गते परेको छ । यो दिन विभिन्न रङहरुले भरिएका राखी दाजुभाइ तथा दिदीबहिनीको रक्षाका निम्ति नडीमा बाँधिदिने चलन छ । यो दिन ब्राह्मणहरुले पनि आफ्ना जजमानकहाँ गएर रक्षा बन्धन बाँधिदिने चलन पनि छ । खासगरी व्रतबन्ध गरेका ब्राह्मण तथा क्षत्रियहरूले जनै फेर्ने दिन पनि यही हो । जनै फेर्ने दिन भएर नै यस पर्वलाई जनैपूर्णिमा भनिएको हो । यो दिन विशेषगरी नेवार जातिमा क्वाँटी खाने प्रचलन प्रसिद्ध छ ।

अर्कोतर्फ परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । ‘क्वाँटी’ नेपालभाषाको ‘क्वाति’ शब्दबाट व्यत्पत्ति भएको र ‘क्वा’को अर्थ तातो र ‘ति’को अर्थ झोल वा सुप हो । क्वाँटी बनाउँदा चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ नौ प्रकारका गेडागुडी टुसा उम्रेने गरी पानीमा चार दिनसम्म भिजाइन्छ । टुसा उम्रेपछि मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यो दिन विशेषको महत्त्वपूर्ण स्वाद पनि हो । आजको दिन क्वाँटी खाएमा पाचनक्रियासँग सम्बन्धित विभिन्न रोगहरु हट्ने जनविश्वाश रहिआएको छ । नेवार समुदायले खाने विशेष प्रकारको क्वाँटीलाई न्वाँगी पनि भनिन्छ ।

हरेक चाडवाडको आआफ्नै महत्त्व हुन्छ । आज यो जनैपूर्णिमा भने धागो र बन्धनको चाड हो । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन । ब्राह्मण र क्षत्रिय पुरुषहरुले हिन्दु परम्परा अनुसार यज्ञोपवित अर्थात जनै लगाउने चलन रहि आएको छ । बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरू पुरोहितद्वारा अरूले नसुन्नेगरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ सङ्कल्प लिएर देब्रे काँधमाथि पर्नेगरी दाहिने हातको मुन्तिर पारेर गुरू पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।

Facebook Comments