झारपातबाट सुन्दर चित्र बनाउने कलाकार मिलन शेरचन

जमुना वर्षा शर्मा

पोखरा महानगरपालिका माछापुच्छ्रे मार्ग स्थित मिलन शेरचनको घर भित्र पस्दा कोठाका भित्ता वरिपरि ब्यवस्थित कलाकृति उत्कृष्टता देख्न सकिन्छ । जापान बसाइका क्रममा सिकेको हानानो ओशिवाना सिपलाई नेपाल फर्केपछि प्रयोगमा ल्याएर कला क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल हुनुहुन्छ कलाकार मिलन शेरचन । हानानो ओशिवाना अर्थात् सुकार्ईएका झारपातबाट चित्र बनाउने कलाले स्थापित गरेको छ शेरचनलाई ।
हानानो ओशिवाना जापानी शब्द हो । दाजु अमेरिकामा भएका कारण उहाँलाई पनि अमेरिका जाने अवसर मिल्यो । केही समय अमेरिका बसाइपछि त्यतैबाट जापान छिर्नुभयो । जापान बसाईमा साइतो सान भन्ने साथीसंग उहाँ एउटा कला प्रदर्शनीमा पुग्नु भयो । त्यहाँको कलाबाट उहाँ प्रभावित हुनुभयो । जापानी कलाकार नोहारा उमीबाट हानानो ओसिवानाका बारेमा सिक्नु भयो । जापान बसाइकै क्रममा पहिले देखिकै चिनजान भएका सत्यनारायण शेरचनसंग विवाह भयो । बिहेको केही समयपछि उहाँहरु दुबै नेपाल फर्केनु भयो ।

पाँच वर्ष जापान बसाइ पछि सन् १९९८ मा नेपाल फर्के सँगै यो कलालाई भित्रयाएर ब्यवसायिकतामा प्रवेश गर्नु भएको हो शेरचन । रहरको कलालाई ब्यवसायितकतामा पुर्याउन उहाँ सफल हुनुभएको छ ।
सानै देखि फरक काममा रुचि राख्ने र सृजनामा रमाउने बानिले हानानो ओसिवानाको कलामा स्थापित गरेको उहाँको भनाई छ । ‘केही न केही नयाँ कर्ममा रमाउने बानि थियो । घर र कोठा सजाउन मकैका भुत्ला हुन कि, दिदीहरूले स्वेटर बुन्दा फालेका धागाका टुक्राहरू जे पाए त्यसलाई कुनै कलामा सजाउन मन लाग्थ्यो । मेरो रगतमानै सृजनशिलता दौडिरहन्थ्यो । त्यसले सफल बनायो ’ शेरचन कलामा लगाब र धैर्यता चाहिने बताउनु हुन्छ ।

विद्यालय तहमा गृह विज्ञान लिएकोले पनि कलासँग जोडिन अझै सहज भएको उहाँको भनाई छ । उहाँका हजुर बुवा भीमबहादुर भट्टचन धन शमशेर जवराको मोहारियाटोल स्थित दरबारमा सितारावादक र तवलावादक हुनुहुन्थ्यो । बुवा झपटबहादुर भट्टचन पनि हस्तकलामा पोख्त हुनुहुन्थ्यो । कला र संगीतको पारिवारिक पृष्ठभुमि भएर पनि होला मिलनमा पनि त्यो गुणको प्रभाव भेटियो । उहाँ चित्रकलामा मात्र नभइ साहित्य र संगीतमा पनि उत्तिकै रुची राख्नुहुन्छ ।
२०३४ सालमा मकैको भुत्लाबाट बनाएको पुतली राम्रो भएको भन्दै पोखरेली युवा सांस्कृतिक परिवारले महिला तथा बालबालिका हस्तकला प्रदर्शनीमा प्रतिष्पर्धामा उहाँ बनाएको पुतलीको चित्रलाई पुरस्कृत गर्यो त्यस पछि २०४१ सालमा पनि उहाँले उहाँले पुरस्कार पाउनु भयो । उहाँको ऊर्जा झनै बढ्यो ।


त्यसपछि पोखराका स्थापित कलाकारहरूसंग उहाँको संगत भयो । कलाकार बुद्धि गुरुङले उहाँलाई चित्रकलाको बारेमा सिकाउनु भयो । चित्रकलाको ज्ञानले स्तरीय सिर्जनाका लागि मिलनलाई हौसायो ।
यही हौसलाकै कारण उहाँले पहिलो पटक २०५८ सालमा थकाली सेवा समिति नदिपुरमा पहिलो एकल चित्रकला प्रदर्शनी आयोजना गनुभयो । सोचे भन्दा धेरै दर्शकहरू आए । कलाको निकै प्रशंसा भयो । यही प्रेरणाले उहाँले पोखरामा र काठमाडौंमा लगातार चार वर्षसम्म एकल चित्रकला प्रदर्शनी आयोजना गर्नुभयो । सामूहिक चित्रकलामा भने दर्जनौपटक सहभागिता जनाउनु भएको छ ।
रातको समयमा सिर्जना गर्न उत्कृष्ट लाग्छ उहाँलाई । कल्पनाका विभिन्न चित्राकृतिलाई उतार्न शान्तिपुर्ण वातावरण चाहिन्छ । सबै सुतिसकेपछि आफ्नो सृजनामा तल्लिन हुन मन पराउनु हुन्छ । प्रकृतिलाई जीवन्त उतार्न बढि मनपराउनु हुन्छ । आफ्ना सिर्जनालाई दुई सय देखि दशहजार रूपैयाँ सम्ममा बिक्री गर्नुभएको छ । शेरचनले कास्कीका विभिन्न गाउँमा कलाकार्यशाला गोष्ठिको संयोजक भएर कार्यक्रम समेत गर्नुभएको छ ।


हानानो ओसिवाना भनेको सुकाइएको झारपातको उचित समिश्रण गरि जीवन्त राख्नु हो । यसरी प्रयोग हुने झारपात हाम्रै वरपर पाइन्छ । आफू यताउती डुल्दा देखिने मौसमी फूल तथा घाँसपात नै कला सिर्जनाका लागि उपयुक्त सामग्री हुन् । घर आँगन, करेसीबारी, खेतबारी, भिरपाखा चौरतिर उम्रने झारपातको सदुपयोग गर्न जाने झारपातलाई जीवन्त पार्न सकिन्छ र आर्थिक रुपमा सशक्त बन्न सकिन्छ भन्ने नमुनाकी पात्र हुनुहुनछ शेरचन । कलाको मर्म बुझ्नेले मात्र चित्र किन्ने गरेको शेरचन बताउनु हुन्छ ।
नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान हस्तकला विभागबाट विद्धतवृत्ति समेत पाइसक्नु भएकी शेरचन दर्जन बढि संघ संस्था सम्मानित समेत भइसक्नु भएको छ । प्रथम नेपाली एकसयएक महिलामा पुस्तकमा समेत उहाँ समावेश हुनुभएको छ ।
केहि न केहि गरिरहन मन पराउने शेरचनले कला क्षेत्र भन्दा बाहिर पनि निकै उदाहरणीय काम गर्नुभएको छ । सामाजिक सेवामा समेत उत्तिकै सक्रिय शेरचनले सुन्दर पोखराका कर्मठ नारी भाग १ र २ को प्रकाशन गरेर विभिन्न क्षेत्रका महिलालाई समाजमा चिनाउने काम समेत गर्दै आउनु भएको छ ।

Facebook Comments