Trending

टुर एण्ड ट्राभल्स एजेन्सी सञ्चालकलाई स्वास्थ्य प्रोटोकल सम्बन्धी प्रशिक्षण


पोखरा, २८ साउन
कोभिड –१९ को जोखिमको समयमा पनि सञ्चालनको तयारीमा जुटेका टुर एण्ड ट्राभल्स एजेन्सी सञ्चालकहरुलाई नेपाल टुर एण्ड ट्राभल्स एसोसिएशन (नाट्टा) गण्डकीले स्वास्थ्य सुरक्षा सचेतना सम्बन्धी प्रशिक्षण दिएको छ ।
नाट्टा गण्डकीको आयोजना र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा सञ्चालित तालीमलाई तीन चरणमा विभाजन गरेर एकसय २० जनालाई सहभागी गराइएको संस्थाका महासचिव कमला गिरीले जानकारी दिनुभयो ।
बन्दाबन्दी खुलेसँगै सञ्चालनको तयारीमा जुटेका सञ्चालकहरुलाई नेपाल सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकल सम्बन्धित विधि र प्रक्रियाको बारेमा जानकारी दिन तालीमको आयोजना गरेको संयोजक एवम् सचिव संगिता पौडेलले जानकारी दिनुभयो ।
प्रशिक्षणमा सम्बन्धित क्षेत्रका व्यवसायीलाई गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता नवराज शर्मा , विश्व स्वास्थ्य संगठनका गण्डकी प्रदेशका प्रतिनिधि डा. राजिब लालचनले स्वास्थ्य सचेतना सम्बन्धी प्र्रशिक्षण दिनुभएको थियो । पर्यटन व्यवसायी समिर बरालले कोभिड– १९ ले पर्यटन क्षेत्रमा पारेको प्रभावको बारेमा प्रस्तुती राख्नुभएको थियो ।
संस्थाका अध्यक्ष सञ्जयकान्त सिग्देलले पर्यटन क्षेत्र सम्बद्र्ध टुर एण्ड ट्राभल्स एजेन्सी सञ्चालक र कर्मचारीहरुलाई प्रदान गरिएको स्वास्थ्य प्रोटोकल सम्बन्धी सचेतनाले कोरोनाको जोखिम न्यूनिकरणमा भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले हाल संस्थामा आवद्ध ट्राभल्स एजेन्सी एक सय ८१ र पर्यटक यातायात व्यवसायीको संख्या ८६ रहेको जानकारी दिनुभयो । सिग्देलका अनुसार ट्राभल्स एजेन्सिमा एक हजार १२ जनाले रोजगारी पाएका छन् भने यातायात तर्फ ६ सय ५३ जनाले रोजगार प्राप्त गरेका छन् ।

Facebook Comments