नेप्लिज पिपुल युकेद्वारा पोखराका मगर कलाकारलाई राहत

पोखरा, ३२ साउन

नेप्लिज पिपुल युकेको विशेष पहलमा नेपाल मगर साँस्कृतिक संघ जिल्ला समन्वय समिति कास्कीले कोरोना र बाढीपहिरो प्रभावित ४४ जना मगर कलाकारलाई पोखरामा राहत वितरण गरेको छ ।
कोभिड –१९ को कारण जारी बन्दाबन्दी खुले पनि पूर्ववत रुपमा कलाकार आफ्नो पेशामा फर्किन सक्ने अवस्था नदेखिए पछि जीवनयापनमा परेको समस्यालाई बुझेर राहत वितरण गरिएको समिति कास्कीका अध्यक्ष सरिता सारु मगरले जानकारी दिनुभयो ।

नेप्लिज पिपुल युकेका तर्फबाट गोर्खा मिडियाका प्रवन्ध निर्देशक एवम् एभरेष्ट टाइम्स युकेका फोटो ग्राफर मिलन तमुको संयोजकत्वमा र कलाकार मनसुधन थापा, दुर्लुङ समाज युकेका पूर्व अध्यक्ष जे एल गुरुङ, समाजसेवी कुलराज गुरुङको पहलमा संकलित रकम एक लाख २५ हजार रुपैया अध्यक्ष सारु मगर मार्फत हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य एवम् पृथ्वीनारायण क्याम्पसका पूर्व प्राध्यापक नवराज गुरुङले असहज परिस्थितिमा देश भित्र र बाहिर भएका सबै नेपाली एक जुट भएर सहयोगमा जुट्नु पर्ने बताउनुभयो । उहाँले विपद्को समयमा सरकारको ध्यान अन्यत्र भन्दा जनताको जीविकोपार्जन र स्वास्थसँग केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका पर्वत महासमिति सदस्य मोहन गुरुङले सबैलाई हसाउने र गीत संगीत मार्फत देशको पहिचान दिलाउने कलाकार अहिले समस्यामा परेको बताउँदै विदेशमा रहेका नेपालीले सहयोग गरेर नेपालीमन सँगै मानवीयता देखाएको बताउनुभयो ।
कोरोना संक्रमण बढ्दो जोखिमा स्वास्थ्य सर्तकताकासाथ संघमा आवद्ध ४२ जनालाई नगद र खाद्यान्न वितरण गरिएको सचिव सुरेश रानामगरको जानकारी दिनुभयो ।

Facebook Comments