पोखरा :कंक्रिट सहरका हराभरा कौसी

जमुनवर्षा शर्मा

पोखरा महानगरपालिका–८ शिवालय मार्गकी सरस्वती थापा पेशाले स्टाफ नर्स र औषधी व्यवसायी हुन् । तर अचेल उनको परिचयमा यो पनि थपिएको छ– ‘एक सफल कौसी खेती किसान ।’ उनी पोखरामा पछिल्लो समय यो पछिल्लो परिचयबाट अझ बढी परिचित छिन् ।

पन्ध्र वर्ष अघिदेखि घरको कौसीमै तरकारी फलाउन थालेकी सरस्वती कौसीमै उत्पादित तरकारीमा आत्मनिर्भर एक सफल कृषक बनेकी छन् । कौसीमा सामान्यतया तरकारी खेती गर्ने त अहिले सोख नै भएको छ । तर उनी भने कौसीकै तरकारीबाट आत्मनिर्भर भएकोले उनको सफलताले अहिले यहाँ चर्चा पनि पाउने गरेको छ ।

बिहान जुरुक्क उठ्दा उनको घर अगाडिबाट कैयौँ मानिस बिहानको हिँडाई (मर्निङ वाक) मा देखिन्छन् । तर उनको बिहान भने कौसीमा तरकारीसँगै बित्ने गर्दछ । उनी सामान्य व्यायामपछि तरकारीको हेरचाहमा व्यस्त हुनेगर्छिन । मौसमी तरकारीका बेर्नादेखि डोरीमा लहलह फलेका काँक्रो, घिरौँला, लौका, सागहरु भ्यान्टा, खुर्सानी गोडमेल र तिनमा एक नजर लगाएपछि उनको बिहानको एक÷ डेढ घण्टा वितिहाल्छ । थापा भन्छिन्, ‘पसिना बगाएसँगै हुर्केका फलहरुमा भेटिएको खुशीको कुनै मुल्य नै नहुने रहेछ । जति आफूले खाँदा आनन्द आउँछ त्यति नै अरुलाई बाँडेर खान पाउँदा पनि मज्जा लाग्छ ।’

थापासँग कौसीमा कुनै एक याममा दुई सय केजीसम्म तरकारी फलाएर जोखेको अनुभव पनि छ । कौसी खेतीमा उत्पादन गरेको तरकारीले गत वर्ष हेमजाको आलु महोत्सवमा प्रथम पुरस्कार पनि हात पार्न सफल भएको थियो । थापाको पछिल्लो दिनचर्या कौसीमा तरकारी लगाउन चाहानेहरुलाई तालिम दिन र आवश्यक परामर्शमा जुट्ने गरेर बितेको छ ।

पोखरा महानगरपालिका–८ न्यूरोडकी सवि शेरचन गौचन बिहान आँखा खोल्ने बित्तिकै कौसी खेती सम्झने गर्दछिन् । जुरुक्क उठेर कौसीमा आफूले लगाएको तरकारी दिनप्रतिदिन हर्लक्कै बढेको, फुल फक्रँदै गरेको दृश्यले निकै प्रफुल्लित भएको देख्दा आनन्द लाग्ने उनी बताउछिन् ।

गौचनको कौसीमा लसुन, प्याज, धनिँया, विभिन्न थरिका साग, घिराँैला, लौका, काँक्रो, सिमी, कागती, जिम्मु, पुदिना, भ्यान्टा, कुरीलोलगायतका तरकारी छन् । लटरम्म फलेका कागती हेर्दै रहरलाग्दो भएको छ । तरकारीसँगै मुन्तला, स्टेबेरी, अम्बा, पपिनो मेलेन फलफूलका विरुवा पनि हुर्काइरहेकी छन् । भान्साबाट निस्केका फोहोरको व्यवस्थापन गर्दै कम्पोष्ट मल बनाउनुभएको छ भने हावाहुरी र असिना पानीबाट जोगाउन टनेल समेत निर्माण गर्नुभएको छ ।

पछिल्लो समय शहरबजारमा पर्याप्त जग्गाको अभाव हुन थालेपछि कौसी खेतीतर्फ सहबासीको आकर्षण बढ्न थालेको छ । त्यस्तै आयातित तथा बजारका तरकारीमा विषादीको मात्रा अत्यधिक प्रयोग हुने गरेका समाचारहरुका कारण पनि अधिकांशले घरको कौसीमै भएपनि धेरेथोर तरकारी लगाउन थालेको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले बताउछन् । उनले भने, ‘कंक्रिटमा परिणत भइरहेको पोखरा सहरको अधिकांश घरको कौसी हराभरा देखिन थालेको छ ।’

महानगरले सबै वडामा कृषि सञ्जाल गठन गरी आमा समूह, टोलविकास संस्थालाई तालिम दिँदै आएको छ । महानगरका तेत्तीस वटा वडामध्ये ११ वटा मुख्य सहरी क्षेत्रभित्र समेटेर कौसी खेती कार्यक्रमलाई प्रभावारी बनाउँदै लगिएको छ । त्यसैगरी महानगरले यो वर्ष कौसी खेतीकालागि ११ लाख बजेट समेत छुट्टाएको छ ।

महानगरले कौसी खेती गर्ने किसानलाई आवश्यक पर्ने मल प्रविधि, विरुवा, गमला, कोकोपिट, कम्पोष्ट विन लगायतमा पचास प्रतिशत अनुदान दिँदै आएको छ भने अर्गानिक विषादी पनि वितरण गर्दै आएको जनाएको छ । महानगरमा एकलाख ६० हजार घरधुरी छन् जसमा यहाँका आवासीय (रेसिडेन्सियल) घरहरुका लागभग ७० प्रतिशत घरको छतमा धेरै थोरै कौसी र करेसाबारी सञ्चालन भएको छ ।(रा  स स )

Facebook Comments