बन्द हड्ताल नगर्न पोउवा संघको आग्रह


पोखरा,२२ माघ । पोखरा उद्योग वाणिज्य संघले बन्द र हड्तालका कार्यक्रमहरु आयोजना नगर्न राजनीतिक दलहरुसँग आग्रह गरेको छ ।
संघले बिहीबार विज्ञप्ति जारी गर्दै दलहरुसँग यसअघि गरिएका प्रतिवद्धता सम्झँदै बन्दलाई सधैँको लागि बन्द गर्न पनि माग गरेको छ । संघका महासचिव सुरेन्द्रमान विजक्छेद्धारा जारी विज्ञप्तिमा आउँदा दिनहरुमा बन्द÷हड्तालका कार्यक्रमहरु भए विरोधमा उत्रन बाध्य हुने जानकारी पनि गराइएको छ ।
‘एकदिनको बन्दले अर्थतन्त्रमा पार्ने प्रभाव नकारात्मक प्रभाव महिनौँसम्म कायम रहन्छ । बन्द÷हड्तालले गरिखाने बर्गलाई सबैभन्दा ठूलो पीडा दिएको हुन्छ’, विज्ञप्तिमा भनिएको छ,‘ बन्द÷हड्तालले देशको अन्तर्राष्ट्रिय छविमा पनि नकारात्मक असर पार्छ । एकातिर कोभिड—१९ ले अर्थतन्त्रमा पारेको असर, अर्कोतिर बन्द र हड्तालले दिने पीडा ! यी गतिविधिहरुले देशको अर्थतन्त्रलाई थप धरासायी बनाउने निश्चित छ ।’ विज्ञप्तिमा कोभिड—१९ पछि उत्पन्न परिस्थितिले उद्योगी÷व्यवसायीलाई ठूलो पीडा दिएको उल्लेख गर्दै नेपालको निजी क्षेत्र पीडामाथि पीडा सहन नसक्ने अवस्थामा पुगेको पनि जिकिर गरिएको छ ।

नोट ः प्रेस विज्ञप्तिको पूर्ण पाठ समावेश छ ।

प्रेस विज्ञप्ति
कोभिड—१९ को जोखिम कायम रहेकै बेला देशमा देखिएको राजनीतिक अस्थिरता र यससँगै सुरु भएको बन्द÷हड्तालका कार्यक्रमहरुले नेपालको समग्र निजी क्षेत्र तथा पोखरा उद्योग वाणिज्य संघलाई चिन्तित तुल्याएको छ ।
पोखरा उद्योग वाणिज्य संघ जुनसुकै प्रकारका बन्द÷हड्तालको विपक्षमा रहँदै आएको छ । एकदिनको बन्दले अर्थतन्त्रमा पार्ने प्रभाव नकारात्मक प्रभाव महिनौँसम्म कायम रहन्छ । बन्द÷हड्तालले गरिखाने बर्गलाई सबैभन्दा ठूलो पीडा दिएको हुन्छ । बन्द÷हड्तालले देशको अन्तर्राष्ट्रिय छविमा पनि नकारात्मक असर पार्छ । एकातिर कोभिड—१९ ले अर्थतन्त्रमा पारेको असर, अर्कोतिर बन्द र हड्तालले दिने पीडा ! यी गतिविधिहरुले देशको अर्थतन्त्रलाई थप धरासायी बनाउने निश्चित छ । यस्तो अवस्थामा पोखरा उद्योग वाणिज्य संघ यसअघि भएका प्रतिवद्धताहरु स्मरण गर्दै बन्द र हड्तालका कार्यक्रमहरु सधैँको लागि बन्द गर्न राजनीतिक दलहरु तथा अन्य सरोकारवाला निकायहरुसँग जोडदार माग गर्दछ । हामी दलहरुलाई आफ्ना असहमतिहरु शान्तिपूर्ण तवरले अभिव्यक्त गर्न र समझारी एवं सहकार्यका साथ अघि बढ्न पनि आग्रह गर्दछौँ ।
नेपालको निजी क्षेत्रले पीडामाथि पीडा सहन सक्दैन । यो तथ्यलाई जति छिटो बुझिन्छ, त्यति नै छिटो नागरिकले राहतको महशुस गर्छन् । अतः पोखरा उद्योग वाणिज्य संघ आइन्दा बन्द र हडतालका कार्यक्रम आयोजना नगर्न आग्रह गर्दै त्यस्ता कार्यक्रम आयोजना भए विरोधमा उभिन बाध्य हुने जानकारी पनि गराउँछौँ ।

Facebook Comments