बागलुङको बाङ्गेचौरदेखि पर्वतको पाङ अदुवाबारी जोड्ने विश्वकै लामाे पुल सञ्चालनमा

बागलुङको  बाङ्गेचौरदेखि पर्वतको पाङ अदुवाबारी जोड्ने झोलुङ्गे पुल सर्वसाधारणका लागि खुला गरिएको छ । कालिगण्डकी नदीमाथि निर्मित  झोलुङ्गे पुल लकडाउनकै समयमा निर्माण सम्पन्न भएको हो । २०७५ चैतमा निर्माण सुरु गरिएको पुल ५ सय ६७ मिटर लामो रहेको छ । ‘सिंगल स्पान’मा विश्वकै लामो पुल भएको बागलुङ नगरपालिकाले दाबी गरेको छ ।
बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले पुल सिंगल स्पानमा विश्वकै लामो रहेको र यसलाई विश्व रेकर्डमा दर्ता गर्न खोजिरहेको बताए ।

‘दुई जिल्लाका बासिन्दालाई आवतजावत र बजारमा किनमेलका लागि सजिलो होस् भनेर पुल निर्माण गरिएको भएपनि यो पर्यटकीय क्षेत्र बन्ने विश्वास रहेको छ,’ उनले भने ।  पुल निर्माणको लागि थानी/बीएलटी/हिमशिखर कन्स्ट्रक्सनले काम गरेको हो । मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर सडक खण्डको ठिकमाथि रहेको पुलबाट धवलागिरि हिमाल सबैभन्दा राम्रोसँग देख्न सकिन्छ । 

९ करोड २५ लाख रुपैयाँमा निर्माण भएको पुलमा ५ प्रतिशतमात्र काम बाँकी रहेको छ । पुलमा विभिन्न कलरका बत्तीहरु जडान गरि रातीको समयमा झिलिमिली बनाउनका लागि पनि काम भैरहेको छ ।  पुलमा २८ वटा लठ्ठा तानिएको छ भने ९४५ वटा स्टिक डिक राखिएको छ । 

Facebook Comments