मदन भण्डारीले पोखरा दुई दिन बस्ने गरी आउँछु भनेर बिदा हुनुभएको थियो-तुलसा पाण्डे


जमुनावर्षा शर्मा
पोखरा , ३ जेठ
ओहो ! आज त जेठ ३ गते मदन बाबुले दही र साग थपी–थपी खाएर , दुई दिन पोखरा बस्न आउँछु भन्दै लुङ्गी र बिफ्रकेश छोडर जानुभएको थियो , त्यसको केही घण्टामा दासढुङ्गामा गाडी दुर्घटना भएको खबर आयो, निकै विक्षिप्त बनाएको थियो मलाई ।” उद्योगपति एवम् तत्कालीन सिँचाइ तथा उद्योगमन्त्री हरि पाण्डेकी श्रीमती तुलसा पाण्डेले २०५० साल जेठ ३ गते सम्झँदै भन्नुभयो ।
मदन भण्डारी, जीवराज आश्रित र ऋषि कट्टेल, बाचस्पति देवकोटा जेठ १ गते पोखरा आउँदै हुनुहुन्छ भनेर श्रीमानले भन्नुभयो । श्रीमानसँग पार्टीगत रुपमा निकै राम्रो सम्बन्ध थियो । मदनले मेरो श्रीमानलाई असाध्यै विश्वास गर्नुहुन्थ्यो । जीवराज आश्रीत पनि मेरो माइति पाल्पा तिरको हुनुहुन्थ्यो, मेरो श्रीमान र आश्रित सँगै भूमिगत हुनुभएको थियो । कपिलबस्तुमा लुकेर काम गर्नुभएको थियो । सम्बन्ध राम्रो भएकाले पोखरा आउँदा हाम्रो घरमानै उहाँहरुको बास हुन्थ्यो । मनमोहन, केपी ओली, सिपी मैनाली लगायतका थुप्रै नेताहरु घरमा आउने बस्ने गर्नुहुन्थ्यो ।
त्यो दिन चारजना आउने भनेपनि अरु कार्यकर्ता पनि भेट्न आउने भएकाले मैले पन्ध्र बीस जनालाई खाना पकाएँकी थिएँ । साँझ आठबजे तिर निकै चारैजना आउनुभयो । बेलुका खाना खाने समयमा गफ चल्यो । मेरो श्रीमानले छोरीहरुको लागि के उपहार ल्यायौ चाइनाबाट भनेर सोध्नुभयो । उहाँहरु भर्खर चाइनाबाट आउनु भएको थियो । मदनले देश बनाउने सपना बोकेर हिडेँका हामी छोरीहरुका लागि उपहार किनेर कहाँ भुल्छन् प्लेनमा पाएको दुईवटा चकलेट छ यही दिने हो भन्दै हाँस्नुभयो ।
उहाँहरुको लागि खाना पस्केँ, मदन बाबुले भन्नुभयो “भाउजु दही खै त ?” उहाँलाई दही निकै मनपर्छ भन्ने मलाई थाहा थियो । काठको भाडाँमा जमाएको दही दिएँ । भाउजूको हातको खानाको स्वाद नै बेग्लै भन्दै खाना थपीथपी खानुभयो । त्यो रात मैले जुठो भाँडा गर्दा १२ बजेको थियो । मदन, आश्रित र वाचस्पति एउटा कोठा र ऋषि कट्टेल र अमर लामा फरक फरक कोठामा सुतेँ ।
जेठ दुई गते बिहान पार्टी काममा निस्कने तरखरमा हुनुहुन्थ्यो । मैले परौठा तरकारी नास्ता खुवाएँ । उहाँहरु आफ्नै काममा लाग्नुभयो । दिउँसो तिर खाना खान आउनुभयो । पार्टीका कुराहरु हुन्थे । दुई गते राती अमर लामा घरीघरी ट्वाइलेट गइरहेको थियो । अलि कस्तो कस्तो व्यवहार देखाएको थियो । मैले श्रीमानलाई पनि भने अमर कति छट्पट् गरिरहेको हो भनँे, ट्वाइलेट एट्याच थिएन । भित्र बाहिर गरेको थाहा हुन्थ्यो । श्रीमानले केही होइन होला भन्नुभयो ।
जेठ तीन गते बिहान पनि नास्ता बनाएर खुवाँए । अमरसिंहमा बैठक छ भनेर उहाँहरु जानुभयो । त्यो बिहान अमर लामा गाडी बिग्रेको छ भनेर गयो । मदन आश्रित, ऋषि, बाचस्पति अनि मेरो श्रीमान पनि बाह्र एक बजे तिर खाना खान आउनुभयो ।
मैले सबैलाई खाना राखेँ, कुर्ची टेबल थिएन । गुन्द्री ओछ्याएँ । त्यही अगाडि सबैलाई खाना राखिदिएँ , मदनले ”भाउजू दही म कचौरामा राख्छु है” भन्दैँ दही राख्न थाल्नुभयो । सबै खाना खान थाले, तर अमर आएन , खाना बोलाउँदा आनाकानी गरिरह्यो । मदन आश्रीतले खाना खाएको पनि घरी घरी झ्यालबाट चिहाएको थियो । बाचस्पतिले अलि चर्कोको स्वरले बोलाएपछि बल्ल आयो, तर भात खेलाइरह्यो । उसको मनमा निकै कुरा खेले जस्तो लागेको थियो ।
दिउँसो तीन या साढे तीन बजे, मलाई ठ्याक्कै याद भएन, उहाँहरु पोखरामा पार्टीको कार्यक्रम सकाएर चितवनमा अखिल नेपाल महिला संघको कार्यक्रमको जिल्ला अधिवेशनको लागि जिाने तरखर गर्नुभयो । मैले आज आराम गर्नुस्, भोलि बिहान पाँच बजे नै नास्ता खाएर जानुहोला भनेँ । मदन बाबुले भन्नुभयो “भाउजू भर्खर चाइनबाट आएको हिसाब किताब पनि बुझाउनु छ, चितवनको कार्यक्रम सकेर, गोर्खा जान्छु र त्यसपछि दुई दिन बस्नेगरी पोखरा आउँछु ।”
उहाँले एउटा लुङ्गी र सानो ब्रिफकेश (कागजपत्रहरु राख्ने ) यही छोड्नुभयो । मैले सधैँ पुजा गर्ने भएकाले ढोका नजिक राखेको पूजाको थाली निकालेँ र टिका लगाइदिएँ । मदन हा.. हा.. गरेर मजाले हाँस्नु भयो, मैले किन हाँस्नुभयो भनेर प्रश्न गरेंँ, उहाँले भन्नुभयो “भाउजू हजूरको तरिका देखेर नी, आमा जस्तै सबै ख्याल गर्नुहुन्छ ”।
मैले हिड्ने बेला वरपीपललाई दाहिने पारेर जानु हैँ भने । चिप्लेढुङ्गामा अहिले पनि वर पिपलको रुख छ ।
जीवराज आश्रितले अल्सर भएको छ भाउजू तातोपानी खान्छु भन्नुभयो । मैले उहाँको लागि मात्रै परौठा र परबरको तरकारी टिफिनमा राखिदिएँ, तातोपानी टुमलेटमा राखिदिएँ, अरुले होटलमा खाएपनि हजूरले यो खानुहोला भन्दै दिएँ ।
अमर आएन , मैले अमरलाई बोलाउन गएँ , उसले मदनको सुटकेश टेबलबाट भूँइमा बजार्दै झा¥यो, मैले किन त्यसो गरेको , फुट्ने सामान होला भनेँ, उ केही बोलेन । ड्राइभर रिसाउँदा मनमा चिसो पसेको भन्दै मदनलाई अमर रिसाएको कुरा गरेँ । उहाँले अमरलाई तीन वर्षदेखि पालेको र उसको बानी त्यस्तै भएको भन्दै चिन्ता नलिन भन्नुभयो ।
सबैजना हामीबाट बिदा भएर चितवन लाग्नुभयो ।


साँझ ६ बजे तिर होला फोन आयो । मदन आश्रित सवार जीप दासढुङ्गामा दुर्घटना भयो भनेर । म झसङ्ग भएँ, पत्याउने कसरी ? छिट्टै आउँछु भन्दै कपडा राखेर जानुभएको । हरेक कुराले झल्झली आउन थाल्यो ।


ऋषि र बाचस्पतिको घर गोर्खा भएकाले खैरेनीमा ओर्लनुभएको रहेछ । घरबाट जाँदा औद्योगिक क्षेत्रसम्म मेरो श्रीमान पनि त्यही गाडीमा गएको देख्नेहरुले पनि फोन गर्न थाल्नुभयो । निरन्तर फोनको घण्टी आउन थाल्यो । म कुनै जवाफ दिन सक्ने अवस्थामा भइन् ।
अमरको व्यवहारले त्यही समयदेखि चिसो बनाएको थियो । मेरो मनले झन् धेरै शंका गर्न थाल्यो ।
आज मदन आश्रित गुमाएको २६ वर्र्ष बितिसकेको छ । सरकारको उच्च ओहोदामा उहाँकै पत्नि विद्या हुनुहुन्छ । उहाँकै पार्टीले सरकार चलाइरहेको छ । फेरी पनि यो घटनाको वास्तविकता थाहा हुन सकेको छैन । कहिलेकाहीँ एकदम नरमाइलो लाग्छ । आज पनि दही र साग खाँदा मदनलाई सम्झन्छु, उहाँको छोडेको लुङ्गी र ब्रिफकेस पनि पछि काठमाडौँ पठाइदिएँ ।
हाम्रो मानसपटलमा उहाँ एक असल र दुरर्गामी विचार बोक्ने निष्ठावान् नेताको रुपमा रहिरहनु भएको छ । मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहदुलीय जनवादले नेपाल कम्युनिष्ट आन्दोलनको मार्गचित्र कोरेको छ । नेता मदन भण्डारीका पदचापलाई पछ्याउन सके विकास हुने थियो भन्ने लागिरहन्छ ।

Facebook Comments