मन्त्री लम्सालद्धारा अत्यावश्यक बस्तुको पोखरामा आकस्मिक निरीक्षण


पोखरा, १२ चैत
कोरोना भाइरस (कोभिड १९) को संक्रमण र रोकथामको लागि सरकारले अवलम्बन गरेको लकडाउनले अत्यावश्यक बस्तुको कृतिम अभाव र महँङ्गी हुन सक्ने भन्दै प्रदेश सरकारले त्यसको आकस्मिक अनुगमन गरेको छ ।
गण्डकी प्रदेशका वन, वातावरण उद्योग तथा पर्यटन मन्त्री विकास लम्सालले बुधबार पोखराको शान्तिवन स्थित कृषि उपज बजारको आकस्मिक अनुगमन गर्नुभयो । उहाँले बजारमा पर्याप्त तरकारी र फलफूल रहेको तर विक्री वितरणको समय कम भएको व्यवसायीको गुनासो रहेको बताउनुभयो “अहिले विहान ४ बजेदेखि ६ बजेसम्म दुई घण्टा मात्रै बजार खुल्ने गरेको छ , तर यस अवधिमा पर्याप्त नभएको र झन् भीड भएको व्यवसायीको गुनासो छ, हामी यसमा पुनर्विचार गरेर समस्या समाधानको पहल गर्नेछौ । अहिले तरकारी, फलफूलमा आपूर्ति र मूल्यमा त्यस्तो समस्या छैन ”
उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपीलनाथ कोइरालाले अत्यावश्यक बस्तु भित्र तरकारी, फलफूल, दुध पनि पर्ने भएकाले यसको आपूर्ति र विक्रिवितरणको अवस्था बुझ्न र जानकारी लिन अनुगमन गरेको बताउनुभयो । “तरकारी फलफूलको दैनिक आवश्यक बस्तु हुन् , सहज आपूर्ति भएन भने यो विग्रन सक्छ तसर्थ सहज आपूर्तिको उपयुक्त विकल्प के हुन सक्छ भनेर अनुगमन गरिएको हो ।” कृषि बजारको थोक मूल्य १५ अघि र अहिलेको मूल्य एउटै रहेको उहाँको भनाइ छ । “बजारमा १५ दिनसम्म पुग्ने तरकारी फलफुल छन् । अब फुुटकरमा कसरी विक्री वितरण हुन्छ त्यसको पनि निगरानी गरेर बढी मूल्यमा बचेको पाइए नियन्त्रणमा लिएर कार्वाही हुन्छ । ” उहाँले भन्नुभयो ।
उद्योग वाणिज्य तथा उपभोत्ता हित संरक्षण निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेलले अनुगमनको क्रममा अत्यावश्यक बस्तुको अभाव र मूल्यवृद्धि नदेखिएको बताउनुभयो । “बाहिर जस्तो खालको हल्ला छ, बजारम त्यस्तो पाएनौ तरकारी प्रशस्त छ मूल्य पनि यथावत्नै छ ।” उहाँले उपभोग्य बस्तुको प्रशस्त उपलब्धता भएपनि केहि व्यक्तिहरुले अत्याधिक खरीद गरिदिँदा केही समस्या देखिएको बताउनुभयो ।
कृषि उपज बजारका व्यवसायी राजकुमार गुप्ताले बंगलादेश भारतदेखि आएका सामान बीचमा अड्किएको र विक्रीवितरणको लागि दुई घण्टाको अवधि थोरै भएको बताउनुभयो । “ जम्मा दुई घण्टा भयो विहान ४ बजेदेखि ८ बजे सम्म स्वास्थ्य सतर्कता सहित सावधानी अपनाएर विक्रीवितरण गर्न वातावरण भए तरकारी फलफूलहरु वितरण सहज हुन्थ्यो र कुहिएर फाल्नु पर्ने अवस्था आउँदैनथ्यो ।”
कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाले तरकारी फलफूल छिट्टै विग्रने भएकाले यसको विक्रि वितरणमा उच्च स्वास्थ्य सर्तकता अपनाएर वितरणमा सहज बनाउन सकिने बताउनु भयो ।
अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय पोखराका प्रमुख प्रशान्त पोखरेल, सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले लगायतको टोलीले अत्यवश्यक उपभोग्य बस्तुको आकस्मिक अनुगमन गरेको हो । टोलीले कास्कीको कृषि उपज बजार र दुध डेरीको अनुगमन गरेको थियो ।

Facebook Comments