Trending

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को स्थापना दिवसमा बटुक र जेष्ठ नागरिकलाई भोजन

पोखरा ३१ साउन
महिला पर्यटन व्यवसायी मञ्चL ओटेफले आफ्नो स्थापना दिवसको अवसरमा जेष्ठ नागरिक र बटुकहरुलाई खाना खुवाएर मनाएको छ ।
‘आर्थिक विकास लागि पर्यटन व्यवसायमा महिला’ भन्ने मुल उद्देश्य सहित स्थापना भएको संस्थाले आफ्नो पाँचौ स्थापना दिवस पोखराको लेकसाइड स्थित केदारेश्वर मन्दिरमा जेष्ठ नागरिक र बटुकलाई भोजना खुवाएर मनाएको हो ।
कार्यक्रमा पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भटराईले पर्यटनका विभिन्न पेशा व्यवसायमा आवद्ध महिलाको संस्था ओटेफले पर्यटन विकासको लागि सकारात्मक भूमिका खेलेको बताउनुभयो । व्यवसायी महिला संगठित भएर सशक्त रुपमा अगाडि बढ्न सफल भएको जनाउँदै त्यसको फाइदा पर्यटन क्षेत्र लिन सफल भएको धारणा राख्नुभयो । उहाँले संस्थाले पाँचौ स्थापना दिवस र महिलाको महान पर्व तीजलाई समेत जोडेर मन्दिर परिसरमा जेष्ठ नागरिक र बटुकलाई खाना खुवाउनुको साथै सिलिङ पंखा वितरण गरेर सामाजिक उत्तरदायित्व बहन गर्न सफल भएको बताउनुभयो । उहाँले ओटेफका गतिविधि देशका विभिन्न जिल्ला एवम् प्रदेशमा पुग्नु निकै सकारात्मक भएको जनाउँदै आगामि दिनमा पर्यटन क्षेत्रको विकासका लागि अझ सशक्त भूमिकाको अपेक्षा परिषदले गरेको बताउनुभयो ।
होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले कुनै एउटा मात्र पर्यटन व्यवसाय आवद्ध नभइ सबै व्यवसायसँग आवद्ध महिलाको संस्था ओटेफले पर्यटन विकासमा साझा उद्देश्य राखेर अघि बढ्न सफल भएको धारणा राख्नुभयो । उहाँले फरक फरक कार्य गरेर संस्थाले आफ्नो छविलाई उच्च बनाउँदै लगेको बताउनु भयो ।
केदारेश्वर मन्दिरका पिठाधिश डा.चिद्धन चैतन्यले समाजमा विकृत उन्मुख हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै मठमन्दिरमा आएर पनि तीज पर्व एवम् संस्थाका कार्यहरु गर्न सकिन्छ भन्ने उदाहरण महिला पर्यटन व्यवसायीले दिन सकेको बताउनुभयो ।

कार्यक्रमा ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुलीले संस्था स्थापना पश्चात विभिन्न क्षेत्रका महिला एकबद्ध भएर पर्यटन क्षेत्रको विकाससँगै नेतृत्व तथा व्यत्तित्व विकासका लागि अग्रसर हुँदै अघि बढ्न सफल भएको बताउनुभयो । उहाँले हरेक स्थापना दिवसमा सामाजिक कार्य गर्दै आएको स्मरण गर्नुभयो ।
ओटेफका अध्यक्ष पार्वती पाण्डेले हरेक वर्ष स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्य गर्दै आएको स्मरण गर्दै यो वर्ष जेष्ठ नागरिक बटुकसँग सह भोजन गर्दैैै स्थापना दिवस मनाउन सफल भएको र यसले सकारात्मक ऊर्जा मिलेको बताउनुभयो । उहाँले ओटेफले विभिन्न जिल्ला पुगेर पोखराको पर्यटनलाई ब्राण्डिङ सफल भएको जानकारी दिदै आगामी दिनमा पर्यटन प्रवद्र्धन संस्थाको सदस्यहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रमलाई जोड दिने बताउनुभयो ।
कार्यक्रम संस्थाका उपाध्यक्ष उमा भण्डारी, महासचिव ममता न्यौपानेले संस्थाको गतिविधि उद्देश्य र भावि योजनाको बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा ७६ जना बटुक २० जना जेष्ठ नागरिकलाई भोजन र केदारेश्वर मन्दिरका लागि आवश्यक ६ थान सिलिङ पंखा वितरण गरिएको कार्यक्रम संयोजक भावना रानाभाटले जानकारी दिनुभयो । कार्यक्रमा पर्यटन सम्बद्ध संघ संस्थाका अध्यक्षहरुको उपस्थित रहेको थियो

Facebook Comments Box