महिला पर्यटन व्यवसायी मञ्चको अध्यक्षमा पार्वती पाण्डे

पोखरा ।
महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को अध्यक्षमा पार्वती पाण्डे निर्वाचित भएकी छन् । आइतबार सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले पाण्डेको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । मञ्चको संस्थापक अध्यक्ष जमुना पराजुली रहेकी छन् ।

सम्पन्न अधिवेशनले उपाध्यक्षमा उमा रेग्मी भण्डारी, सचिवमा ममता न्यौपाने, सहसचिवमा बालकुमारी न्यौपाने, कोषाध्यक्षमा लक्ष्मी लामिछाने र सह कोषाध्यक्षमा शारदा भुजेललाई चयन गरेको छ । त्यसैगरी सदस्यमा उमादेवि अधिकारी, मञ्जु सुवेदी, कान्ति अधिकारी, मायाँ सुवेदी, रिता रेग्मी पौडेल, भावना रानाभाट, लालुमायाँ भण्डारी, मिठुदेवी लामिछाने, सुशीला सिग्देल सुन्ति पूर्जा र सुशीला भण्डारी चयन भएकी छन् ।

यस अगाडि साधारणसभाको उद्घाटन् गण्डकी प्रदेश सभाका सांसद राजिव पहारीले गरेका हुन् । उद्घाटन गर्दै उनले महिला पर्यटन व्यवसायी संगठित भएर अघि बढ्दा पर्यटन विकासमा टेवा पुग्ने बताए । पर्यटन क्षेत्रमा १९२ अर्ब प्रत्यक्ष लगानी र ५०० अर्ब निजी क्षेत्र को लगानी जोखिममा रहेको उनको भनाइ छ

पोखरा महानगरका उपप्रमुख मन्जुदेवी गुरुङले महिला आफ्नो अधिकारका लागि संगठित भएर अघि बढ्नुपर्ने बताइन् ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन क्षेत्रको विकासमा सबैको साथ सहयोग अपरिहार्य हुने बताए । आन्तरिक पर्यटन पुनर्राेत्थान समितिका संयोजक अग्नि कँडेलले अहिलेको अवस्था पर्यटनलाई लय फर्काउन आन्तरिक पर्यटन प्रबद्र्धनमा जोड दिए ।

मञ्चका अध्यक्ष जमुना पराजुलीले महिला पर्यटन व्यवसायीको नेतृत्व तथा व्यक्तित्व विकासमा जोड दिदै पर्यटन विकासका लागि लागिरहेको उल्लेख गरिन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष जगत पहारी, सामुदायिक सेवा केन्द्रका अध्यक्ष मीना भट्टराई, सम्मानित व्यक्तित्व जमुना वर्षा शर्मा लगायतले पोखराको पर्यटन लगायतका विषयमा बोलेका थिए ।

कार्यक्रममा मञ्चलाई पत्रकारिताको माध्यमबाट योगदान दिएको भन्दै पत्रकार जमुना वर्षा शर्मालाई सम्मान गरिएको थियो । उनलाई नगद १० हजार रुपैयाँ, सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो । त्यसैगरी कार्यक्रममा मञ्चका सल्लाहकार देबका पहारी र पम्फा पहारीलाई पनि सम्मान गरिएको थियो ।

Facebook Comments