लाप्चाको ल्होछार- नामआल


शैलेस डंगोल, इलामबाट

लाप्चाहरुले ल्होछारलाई नामआल पर्ब भन्ने गरेका छन् । केहीले नामवान अथवा नामसुङ पनि गरेको सुनिन्छ । यसको अर्थ पनि नयाँ साल वा सुरुवातकै अर्थमा बुझिन्छ । तर अन्य ल्होछार जस्तो कुनै सम्बत वा पात्रोको आधार नबनाएर मिथकअनुसार यो पर्ब मनाउने गरेको लाप्चा अगुवाहरुले बताएका छन् । ल्होछार अर्थात ल्होसार जे शव्द प्रयोग भए पनि यो शव्दले नयाँ बर्षलाई जनाउने हो । यसैले नेपालका आदिवासी जनजातिका विभिन्न समुदायले फरक फरक दिनमा ल्होछार मनाउने प्रचलन बसालेका छन् । तामाङहरुले सोनाम ल्होछार, शेर्पाहरुले ग्याल्वो ल्होसार र तमुहरुले तोला ल्होछार आफनो आफनो पात्रो र सम्बत अनुसार मनाउने गरेका छन् । यस उपलक्षमा आफनो परम्परा, संस्कृति र धर्म अनुसार नयाँ बर्षलाई स्वागत गर्ने र पुरानो बर्षलाई बिदाई गर्ने मान्यता छ । यो पर्ब शेर्पा, तामाङ,, गुरुङ, थकाली, ह्योल्मो, जिरेल, हुम्ली, भोटेहरुले मनाउने गरेका छन् । तर यस बाहेक नेपालका अतिसिमान्तीकृत लोपोन्मूख आदिवासी लेप्चाहरुले पनि आफनै परम्परा र संस्कार अनुसार ल्होछार मनाउने गरेको सन्दर्भ भने नेपाली समाजमा कम चर्चा हुने गरेको छ ।

रोङ सेजुम ठि अर्थात लाप्चा उत्थान मन्चका इलाम सूयोदय एकाई अध्यक्ष मनमाया लाप्चाका अनुसार पुसको औसीको भोलिपल्ट प्रतिपदाका दिन नामआल पर्ब मनाइने गरिन्छ । लाप्चा मिथक अनुसार लासो–मुङपुनु नाम गरेका एक राक्षसका राजालाई लाप्चाका पुर्खा देउता तामसाङ थिङले हत्या गरी बंशनासबाट जोगाएको खुशीयालीमा यो पर्ब मनाउने गरिएको हो । ती राक्षसलाई औसीको अध्यारो रात्रीकालीन समयमा पराजित गरिएको थियो ।

यस कथनलाई आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानबाट प्रकासित रोङ .(लाप्चा) जातिको चिनारी नामक पुस्तकमा पनि उल्लेख गरिएको छ । अनुप राई, वीर बहादुर लाप्चा र मानवीर लाप्चाको संयुक्त लेखनमा प्रकासित पुस्तकमा राक्षसका राजा मुङपुनु र लाप्चाका पुर्खा थिङबीच युद्धमा मुङपुनुले १२ जीव जनावरको रुप फेरेर युद्ध लडेको कथा छ । यो लडाई बाह्रबर्षसम्म चलेको थियो । यही मिथक अनुसार लाप्चाहरुले १२ जीव बजनावरको नामबाट बर्ष परिबर्तन हुने बिश्वास गरिन्छ । यो ल्होछार मान्नेहरुको ल्हो परिबर्तनसंग हुबहु मिल्न जान्छ ।

आदिवासी जनजाति महासंघ सूर्योदयका अध्यक्ष सोनाम ह्योल्मोको भनाई अनुसार लाप्चाहरुको समय चक्र, जस्तै बर्ष, महिनाको गणना गर्ने चलन छ । लाप्चा अगुवा मनमाया लाप्चाले जानकारी दिएअनुसार मुसा, गोरु, बाघ, चिल,चट्यांग, सर्प, घोडा, भेडा, बँदर, कुखुरा, कुकर र सुगुर बर्गमा बिभाजन गरिएको छ । गत पौष आमबस्यापछिको प्रतिपदाबाट लाप्चाहरुको बिश्वास अनुसारमुसा बर्ग अर्थात कलोकनाम सुरु भएको भन्दै बिशेष उत्सब मनाएका थिए ।

आफूलाई रोङ भनेर परिचय दिने लाप्चाहरु आदिवासी जनजातिमा सूचिकृत समूदाय हो । यस समुदायको बहुल बसोबास इलामको सूर्योदय नगरपालिका क्षेत्रमा पर्दछ । यस बाहेक लाप्चाहरु भारतको सिक्किम र दार्जिलिङको मिरिक क्षेत्रमा बसोबास गर्ने गरेका छन् ।
लाप्चाहरुले नामआलमा पितृदेवता र प्रकृतिको पुजा गरेर नयाँ सालको स्वागत गर्ने गर्दछन् । नयाँ अन्नबाली र कन्दमूल फलफूल भगवानलाई चढाए पछि सम्पूर्ण प्राणी जगतको सुख शान्तिको कामना गर्दै शुभकामना आदान प्रदान गर्ने प्रचलन छ । लाप्चाहरुको सामाजिक संगठन रोङ सेजुम ठी अर्थात लाप्चा उत्थान मन्चले यस उपलक्षमा बिशेष औपचारिक कार्यक्रम गर्ने गरेको छ ।
पछिल्लो समयमा लाप्चाहरुको बिशेष पर्ब लोपोन्मूख अवस्थामा पुगेको छ । यसका लागि आदिवासीजन्य बिभिन्न संघसंस्थाले यस लोपोन्मूख संस्कृतिको संरक्षणको पहल प्रारम्भ गरेको छ । इन्डिजिनियस टेलिभिजनले पनि लोपोन्मूख आदिवासीका अमुर्त संस्कतिको संरक्षणका लागि काम गरिरहेको टेलिभिजनका अध्यक्ष देव कुमार सुनुवारले बताउनु भएको छ । यसै गरी इलामको सूर्योदय नगरपालिकाले पनि लोपोन्मूख आदिवासी लाप्चाको संग्रहालय निर्माणमा सहयोग गरेको छ । नगरपािलकाकी उपप्रमूख दुर्गादेबी भट्टराईले आदिवासीको संस्कार र संस्कृतिको संरक्षणका लागि कार्यक्रम सुरु गरेको बताउनु भएको छ ।
(साभारः इन्डिजिनियस फिचर सेवा)

Facebook Comments