“साहसिक खेल पर्यटनको एक्लो शहर पोखरा”


जमुना वर्षा शर्मा

“आहा पोखरा ! बादल भित्र लुकामारी गर्दै देखिने हिम श्रृखंला ताल तलैया अनि मिलेको बस्तीको माथि माथि चरा जस्तै उडेर दृश्यावलोकन गर्दै प्रकृतिसँग रमाउनुको मजा पोखराको आकाशमा भेटिन्छ ।” यी अनुभव इटहरीका पत्रकार विराट अनुपमका हुन् । केहि समय पहिला पोखरामा स्काइ डाइभ, प्याराग्लाइडिङ, जिप फ्लायर, हट एयर बेलुन लगायतका साहिसक खेलबाट मनोरञ्जन लिए पछि उहाँले अवर्णित शहर पोखरामा साहसिक खेलले थपेको रोमाञ्चकता शब्दमा व्यक्त गर्न नसकेको अनुभव सुनाउनु भयो । अनुपम भन्नुहुन्छ “पोखरामा हुने न्यूनतम शुल्क, विश्व स्तरीय सत्कार, दक्ष जनशक्तिले गज्जबको लाइफ टाइम एक्सपेरियन्स भयो ।” उहाँ थप्नुहन्छ “दुनियाँमा पोखरा मात्रै यस्तो क्षेत्र हो जहाँ ८ सय मिटर र ८ हजार मिटरको अन्तर ३७ किलोमिटर हाराहारी मात्रै छ , सबै लोकप्रीय ट्रेकिङ रुट अन्नपूर्णको गेट वे पोखरा नै हो । नेपालको ७० प्रतिशत प्याकेज पोखरामा भेटिन्छ ।” साहसिक खेलको बेजोड आनन्द जो पोखरामा भेटिन्छ ।
अर्का साहसिक खेल प्रेमी एवं साहसिक पर्यटन अभियन्ता विष्णुकान्त घिमिरे साहसिक खेलपर्यटनको एक्लो शहर पोखरा भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “प्याराग्लाइडिङ, स्काइ डाइभिङ, अल्ट्रालाइट, हट एयर बेलुन, बन्जी जम्प, जिप फ्लायर, राप्mटिङ लगायत सबै भएको पोखरा नेपालको एक्लो सुन्दर शहर हो । जहाँ साहसिक खेल पारखीले प्याकेजमा सबैको आनन्द लिन सक्छन् । ”
घिमिरे भन्नुहुन्छ “पहाडको माथि घुम्दै हिडेर आकाशको चारै तिर फैलिएर” भन्ने गीत गुनगुनाउँदै आकाशको शयर गर्नु फेरी झरेर बन्जीजम्पबाट फाल हाल्नुको
आनन्द जुन पोखरामा मिल्छ । आफु भित्रको आत्मविश्वास अनि डर भित्रको आनन्द एकैचोटि लिन सकिने उहाँको अनुभव छ ।
पोखरा प्राकृतिक सुन्दरतासँगै अनुकुल मौसमले जो कोहीका लागि रोजाइको शहर बनेको छ पोखरा । वालक देखि वृद्धा सम्म रमाउन सक्ने पोखराको वातावरणमा पछिल्लो समय साहासिक खेल पारखीहरु पनि उसरी नै झुम्न थालेका छन् ।
पोखरामा प्याराग्लाइडिङ, जिप फ्लायर, टावर सहितको बञ्जी जम्प,अल्ट्रालाइट, क्यानोनिङ, हट एयर बेलुन, स्काइ डाइभ, सँगै पर्यटकले रमाइलोका लागि गर्ने साइकलिङ्, बोटिंग, घोडा सवारी, सेती नदीमा गरिने जलयात्रा (राफटिङ्ग) तथा कायाकिङ्गले पनि यस क्षेत्र साहासिक खेलको मुख्य गन्तब्य बन्दै गएको छ ।
पर्यटन व्यवसायी एवं पोखरा अल्टालाईटका प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठ माछापुच्छ्रे, अन्नपूर्ण सहितका हिमश्रृंखलाको दृश्यावलोकन गर्न सकिने साथै ताल तलैया एवं धार्मिक रुपले पनि उस्तै महत्व राख्ने पोखराले पछिल्लो समय साहसीक खेलको शहरको रुपमा समेत आफ्नो परिचय थप्दै गएको बताउनुहुन्छ । पोखरामा सन् १९९६ मा एभिया क्ललले अल्टालाइट भित्र्याएको हो । पुतली जहाजसमेत भनेर चिनिने अल्ट्रालाइट पोखरामा मात्रै सञ्चालित छ । हाल एभिया क्लब, फिस्टेल र पोखरा अल्ट्रालाइट लगायतले अनुमति लिएर सञ्चालन गरिरहेका छन् ।
पोखरा १७ रातो पैह्रोमा बञ्जि नेपाल एडभेन्चरर्स प्रा.लिले ८ करोडको लगानीमा बञ्जि जम्प निर्माण गरिरहेको छ । यसका अध्यक्ष सन्तोष भट्टराइसँग विदेशका विभिन्न देशहरुमा डेढ दशक लामो समय बन्जिमा काम गरेको अनुभव छ । भट्टराई भन्नुुहुन्छ “म पोखराको सुन्दरतामा असाध्यै रमाउँछु । पोखरा विश्वमा परिचित नाम हो, यसको सुन्दरतामा जो कोहि रम्न सक्छन् माछापुच्छ्रे अन्नपूर्ण हिमश्रृखंलाको काखमा साहसीक खेल पारखीको लागि बन्जीजम्प निर्माण भइरहेको छ ।” उहाँले पोखरालाई साहसिक खेल पर्यटनको रुपमा समेत विश्वमा चिनाउन सकिने बताउनुभयो ।
यस अघि हाइग्राण्ड एडभेन्चर्स (बञ्जी पोखरा) ले पनि सन् २०१४ देखि बन्जी जम्प सञ्चालन ल्याइसकेको छ भने सोहि कम्पनीले सन् २०१२ बाट जिप फ्याएर सञ्चालन गरिरहेको छ । यस कम्पनिका प्रमुख अपरेटिङ अफिसर दिनेश महर्जन प्रत्येक वर्ष ३० देखि ४० प्रतिशत बञ्जी र जिपफ्यायर गर्नेहरु बढ्दै गएको बताउनुहुन्छ । उहाँले कोरोनाको प्रकोप नभएको भए भ्रमण वर्षको प्रचारप्रसारले साहसिक खेल पर्यटनलाई उचाईमा पुर्याउन विश्वास व्यक्त गर्नुभयो । “धेरै उत्साहित थियौ पर्यटकहरु राम्रो आइरहेका थिए एक्कासी कोरोनाको प्रभावले सुनसान बनाइदियो ।”
पोखरामा सन २०१८ नोभेम्बर १६ देखि हट एयर बेलुनको उडान सुरु भएको हो । बेलुन नेपाल प्रा.लि पोखराका अध्यक्ष विक्रम बाडेले समुन्द्र सतह देखि तीन देखि चार हजार मिटर उचाइ सम्म उड्न सकिने यसबाट पोखरा र आसपासका सुन्दर हिमश्रृखंलाको दृश्यावलोक गर्न सकिने र वर्षायामका तीन महिना असार, साउन र भदौ बाहेक हरेक महिना मौसम अनुकुल भएको दिन उड्न सकिने बताउनुहुन्छ ।
नेपाल हवाइ खेलकूद संस्थाका उपाध्यक्ष इन्द्र भण्डारीका अनुसार पोखरामा विरुबमजमले सन् १९९६ मा बेलायतका नागरिक एडम हिललाई नेपाल ल्याएर प्याराग्लाइडिङ्गको शुरुआत गर्नुभएको थियो । पहिलो कम्पनी सनराइज प्याराग्लाइडिङ्ग हो । बमजमका छोरा राजेश बमजम पहिलो प्यारापाइलट हुन् । हाल पोखरामा ६० वटा प्याराग्लाइडिङ्ग कम्पनीहरु सञ्चालनमा रहेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ । “पोखरा आएका ५० प्रतिशत पर्यटकले प्यराग्लाइडिङ्ग गर्छन् भने चिनियाँ पर्यटक भने ९५ प्रतिशतले गर्ने गरेका छन् । कोरोनाले सुस्ताएको पर्यटन क्षेत्रमा अहिले पनि पोखरामा रहेका पर्यटकहरु मौसम खुलेको बेला टन्नै आकाशमा उडेको देख्न सकिन्छ ।” प्याराग्लाइडिङ्गमा उडेर मज्जा लिनका लागि ठूलो संख्यामा स्वदेशी तथा विदेशी पर्यटक पोखरा आउने गरेको उहाँले बताउनुभयो ।

त्यसैगरी साहसिक खेल पारखीको रोजाइमा क्यानोनिङ पनि पर्दछ । माछापुच्छ्र्र्रे गाँउपालिका वडा नं ९ ल्वाङघलेलको कुदी छहरामा रहेको पोखरा क्यानोनिङ सन् २०१४ बाट सञ्चालनमा आएको हो । क्यानोनिङ पर्यटन व्यवसायी राम गुरुङले सञ्चालनमा ल्याउनु भएको हो । ४५ मिटर देखि ७५ मिटर अग्लो स्थानबाट पानीको छहरामा रमाउन सकिन्छ । वार्षिक तीनहजार जतिले क्यानोनिङ गर्ने गरेको गुरुङले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका ११ जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यलाई समेटेर १ सय १० वटा नयाँ पर्यटकीय स्थल सार्वजनिक गरेको छ भने साहासिक पर्यटकीय गन्तव्यहरूलाई समेत सूचिकृत गरेको छ ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा उद्योग मन्त्री विकास लम्सालले पोखरा साहसिक खेलको हब भएको बताउनुभयो । यसको प्रचार प्रसार गरेर बाह्य पर्यटन भित्र्याउन सक्ने प्रशस्त सम्भावना र त्यसको गृहकार्य भइरहेको सन्दर्भमा हाल विश्वव्यापी रुपमा देखिएको कोरानो भाइरसले सबै क्षेत्रलाई प्रभावित बनाएको उहाँको भनाइ छ । “हामी विशेष योजना सहित नेपाल भ्रमण वर्ष २०२० र गण्डकी प्रदेशको छिमेकी भ्रमण वर्षलाई भव्य बनाउने तयारीका साथ अघि बढेका थियौ । अचानक कोभिड १९ को प्रकोपबाट हामी सचेत बन्नुपर्ने अवस्थाले हाल पर्यटन प्रर्वद्धनात्मक गतिविधि रोकेका छौ ।
तस्बिर उपलब्ध छ ।
१) पोखराको आकाशमा साहसिक खेल मध्येको एक स्काइ डाइभ गर्दै साहसिक खेल प्रेमी । पृष्ठभूमीमा माछापुच्छ्रे हिमाल ।

Facebook Comments