पाक्षिक इपेपर

Download | Old E-paper
ताजा समाचार

दलीय स्वार्थको हुण्डरीमा स्ववियू निर्वाचन : शैक्षिक मुद्दा गौण !

आठ वर्षपछि सम्पन्न भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन ५० प्रतिशत कलेजहरुमा पनि हुन सकेन । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा मात्र भएको निर्वाचन विद्यार्थी र शैक्षिक मुद्दा गौण अनि राजनीतिक दलका स्वार्थ पूर्णरुपमा हावी भएको पाइयो । जसरी सिंहदरबारमा सत्तापक्ष र विपक्षको रस्साकस्सी छ र लोकप्रियता आर्जन गर्ने र गुमाउने क्रम चलिरहेको छ, त्यसको एउटा कडीका रुपमा देखियो स्ववियू निर्वाचन ।

पटकपटक घोषणा हुँदै स्थगित हुँदै आएको यो निर्वाचनले मुलुकको सामग्र राजनीतिलाई जसरी प्रभावित पार्नेछ, यससंगै शैक्षिक क्षेत्रका जल्दाबल्दा समस्याहरू समाधान हुने अपेक्षा निर्वाचन गर्ने र गर्न नदिने पक्षको रस्साकस्सीले गर्दा कमै छ । विद्यार्थी र शैक्षिक विषयलाई प्रधानता दिनुपर्ने यो निर्वाचनलाई दलीय शक्ति प्रदर्शनको होडवाजी गर्ने महत्वपूर्ण थलोका रुपमा स्थापित गराइएको छ । शैक्षिक मुद्दा कम, राजनीतिक मुद्दा बढी बोकेका राजनीतिक दलका युवा दस्ताभन्दा माथि उठन नसकेका विद्यार्थी संगठनहरूबीचको प्रतिस्पर्धा दलीय सिद्धान्तकै आधारमा भएको छ । विद्यार्थी र शैक्षिक मुद्दाले स्ववियू निर्वाचनमा कुनै स्थान पाएन ।

यस्तै गतिविधिको प्रभावले हो– विद्यालयदेखि विश्वविद्यालयसम्मको शैक्षिक गतिविधिमा देखिएको अबरोध, शिक्षामा खस्कदैगएको गुणस्तर, शिक्षण संस्थामा हुने राजनीतिक हस्तक्षेप, राजनीतिक दलका भागवण्डामा हुने नियुक्ति र पदस्थापनले नेपालको शैक्षिक मुद्दा गौण बन्न पुगेको छ । विद्यार्थी संगठनहरू पनि आफ्नो दलका मान्छे आए ठीक र अरुको आए बेठीक भन्दै आन्दोलन गर्ने बाहेक उपलब्धिमूलक कुनै काम गर्न अग्रसर हुँदैनन् । उटै शैक्षिक उन्नउनको थलोमा आगो झोस्ने काम भैरहेको छ ।

शैक्षिक मुद्दा सेलाउँदै गएको विद्यार्थी नेताहरू नै स्वीकार्ने अहिलेको अवस्थामा स्ववियू निर्वाचनले एउटा सन्देश भने पक्कै दिएको छ । विगतमा जस्तो अधबैंसे उमेरसम्म पनि विद्यार्थी नेता बनेर चुनाव लड्ने अनि कलेज भर्ना नै नभै विद्यार्थी नेता बनेर हुकुम चलाउने प्रवृत्तिको भने अन्त्य भएको छ । यसपटक २८ वर्ष उमेर पार गरेकाहरूले उम्मेदवारी दिन नपाउने नीति अपनाइएको छ ।

नेपालका कुनै पनि राजनीतिक दलको सबभन्दा ठूलो शक्ति भनेको विद्यार्थी संगठन हो । त्यही विद्यार्थी संगठनलाई उपयोग गरेर नेताहरू सत्ता र शक्तिको भ¥याङ चढिरहेका छन्, तर विद्यार्थी र शैक्षिक मुद्दा भने त्यसै सेलाउँदै गएको छ । नेतालाई काँधमा बोकेर हिंड्ने विद्यार्थी नेताहरूमध्ये कमैले मात्र अवसर पाएका छन् । विद्यार्थी संगठनले पार्टीको सैद्धान्तिक धार अपनाए पनि उनीहरूलाई पार्टीले नियन्त्रण गर्न नहुने मान्यता विकसित हुन सकेको छैन । नेताहरू विद्यार्थी संगठनमा पकड जमाउन गुट–उपगुट सिर्जना गरेर संगठनलाई नै तहसनहस पार्न उद्यात छन् । अनि विद्यार्थीहरू पनि त्यसैको पछि लागेर आफूसंगै लाखौं विद्यार्थीहरूको भविष्यको पर्वाह नगरी राजनीतिक स्वार्थमा रुल्मुलिइरहेका छन् ।

विद्यार्थी सबभन्दा पहिला विद्यार्थी त्यसपछि मात्र संगठनको सदस्य अनि मात्रै दलका कार्यकर्ता हुनुपर्नेमा यहाँ सबभन्दा पहिला नेताका कार्यकर्ता, त्यसपछि दलका कार्यकर्ता अनि मात्र विद्यार्थी नेताका रुपमा आफूलाई चिनाउन उत्सुक छन् । मलाई फलानो नेताको आशीर्वाद छ भन्दै दम्भ प्रदर्शन गर्ने विद्यार्थी नेताबाट शैक्षिक मुद्दाहरूको अपेक्षा कति गर्न सकिएला ? त्यसै भएर नेपालको विद्यालय–विश्वविद्यालयको शैक्षिक अवस्था चिन्ताजनक छ । निजी क्षेत्रले केही परीक्षामुखी शिक्षा दिएर आफूहरूलाई अब्बल ठहर्याउँदै व्यापार गरिरहेका छन् । विद्यार्थी संगठनहरू कहिल्यै पनि सरकारले वार्षिक ३० अर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने सामुदायिक क्षेत्रको शिक्षातिर ध्यानै दिन सकेका छैनन् ।

विद्यालयदेखि विश्वविद्यालयसम्मको शैक्षिक गतिविधिमा देखिएको अबरोध, शिक्षामा खस्कदैगएको गुणस्तर, शिक्षण संस्थामा हुने राजनीतिक हस्तक्षेप, राजनीतिक दलका भागवण्डामा हुने नियुक्ति र पदस्थापनले नेपालको शैक्षिक मुद्दा गौण बन्न पुगेको छ ।

मुलुकमा युवाहरूलाई स्वदेशभित्रै आकर्षित गर्ने संयन्त्रको विकास छैन । उचित र समयानुकूल शिक्षाका लागि कसैको पहल र दवाव छैन । त्यसको असर नेपाली युवाहरूले सुरक्षित भविष्यको मार्ग विदेश मात्र देख्ने गरेका छन् । अध्ययनका लागि होस् वा रोजगारीका लागि सबैको एउटै चाहना हुन्छ– विदेश जाने । सीपमूलक–व्यावसायिक शिक्षाको अभावमा मुलुकभित्र रोजगारीको सिर्जनाको क्षेत्र र अवसरको पहिचान हुन सकेको छैन । यसले गर्दा मुलुकको आर्थिक अवस्था वैदेशिक रोजगारीले धानिरहेको छ ।

गाउँघर युवाविहीन हुँदैछ । खेतबारी बाझो राखेर अरबमाा पसिना बगाउनुको विकल्प नदेख्ने युवाहरुलाई मुलुकभित्रै गरिखानन सकिन्छ भन्ने ज्ञान र ऊर्जा दिने शिक्षा दिनेतिर कसैको चासो छैन । विद्यार्थी संगठनहरु माउ पार्टीको राजनीतिक सोपान ठड्याउन मात्रै उपयोगमा आउने गर्दा मुलुक परनिर्भर मात्र बनिरहेको छैन कि शिक्षाकै नाममा वर्षिक अर्बौं रुपैया विदेशिएको छ ।

जताततै विकृति र विसंगतिको कालो बादल मडारिएको छ । यसको सफाई गर्ने शिक्षाले हो र त्यस्तो शिक्षाका लागि विद्यार्थीहरुको भूमिका अहं हुन्छ । विद्यार्थी संगठनहरूले आफूलाई मुलुकको शैक्षिक गतिविधिमा केन्द्रित गरी शैक्षिक समानताको पक्षमा उभ्याउन सके भने विद्यार्थी नेता हुनुको अर्थ खुल्नेछ । हैन, दल र दलका नेताको गुटबन्दीलाई बढावा दिंदै निर्वाचनमा होमिने भए यसको कुनै अर्थ छैन । (नेपाल जापान डट कम बाट,लेखक देबकोटा नेपाल जापान डट कमका सम्पादक हुनुहुन्छ)

FacebookTwitterGoogle+PrintShare