पाक्षिक इपेपर

Download | Old E-paper
ताजा समाचार

दशैको दिन डाक्टरको ब्यवहारले दुखाएको मन ।

        जमुना बर्षा शर्मा

दशैं सकियो । दशैका कति ‘भाइब्स’ भने ताजै छन् । मान्छेको जातै यस्तै सम्झिनु पर्ने कुरालाई विर्सदै जान्छ । विर्सिदा राम्रो हुने कुरा मनमा लिइरहन्छ । म पनि कसरी टाढा रहन सक्छु, यो मानवीय स्वभावबाट । दशैको शुभसाइतमा सासु ससुरा र मामा माइजुको हातबाट टिका ग्रहण गरेसँगै माइति आमाको हातबाट टिका ग्रहण गर्न मन निकै हतारिएको थियो । त्यसैकालागि हाम्रो यात्रा तय भयो । भरतपोखरीबाट पोखरा आउँदै गर्दा श्रीमान ज्यूको मोटरसाइकलमा समस्या देखियो । अर्को स्कुटर खोजेर साझँ ४.३० मा पोखराबाट बागलुङ्ग तर्फ हामी चार जना दुई स्कुटरमा गुड्यौ । बाबा र छोरा एउटा स्कुटर र अर्कोमा हामी आमा छोरी थियौ । यात्रा अघि बढ्यो । हामी सँग सँगै थियौ । लुकिङ्ग ग्लासबाट एक अर्काको दुरी नियालिरहेका थियौ । याम्दि पुल नजिकै पुगेपछि मैले बाबा छोराको स्कुटर आएको देखिन । छोरीलाई पछाडि फर्केर हेर्न भने । उनले बाबा र भाइको स्कुटर एक्सिडेन्ट भएको भन्दै चिच्याइन् । म स्कुटर रोकेर एक्सिडेन्ट भएको ठाउँमा पुगे । हाम्रो दुरी झण्डै ३५ मिटर जतिको थियो । ट्याक्सीले ओभर टेक गर्दा स्कुटर पल्टिएको रहेछ । ८ वर्षिय छोरा प्राञ्जलको टाउको अघि धरासिएर चोट लागेको थियो । आँखा हल्का सुन्निएको थियो । बाबालाई भने हात खुट्टामा सामान्य चोट लागेको थियो । उत्साह उमंगले प्रफुलित मन घटना पछि एकाएक अर्कै परिवेशमा परिणत भयो । मन आत्तियो के गर्ने कसो गर्नेे ? पानि पर्न थाल्यो । केहि बेर पछि बेस्सरी दर्कियो । हामी बाबुको उपचारकोलागि पोखरा तिरनै फर्कियौ । बाबु राम्र्रैसँग बोलेको र अरु लक्षण नदेखिएकाले भित्र चोट छैन बाहिर मात्रै होला भन्ने सोच्यौ ।
पानि बेस्सरी दर्कियो । मैले बाबुलाई आफ्नो स्कुटरमा राखेर पोखरा फर्किए । बाबा र छोरी अर्कोमा आए । पानि र हावाको कारणले घाऊ पोल्न थालेछ क्यारे बाबुले घाउ दुख्यो ममि भन्दै रुन थाल्यो । आमाको मन ममताले गालिसकेको थियो । सिधै ओम हस्पिटलको आकस्मिक कक्षमा पुगें । केहि बेरमा सिस्टर आइन् । बच्चाको बारेमा जानकारी गराए । उनले डाक्टर बोलाएर ल्याइन् । डाक्टरले बच्चालाई बाहिरबाट सर्रर हेरे र सिधै सिटि स्क्यान गर्न रिफर गरे । मैले सिधै सिटि स्क्यान ? भनेर प्रश्न गरे । डाक्टरले ठाडो जवाफ दिए । डाक्टर म कि तँपाई ? मैले सिटि स्क्यान भन्दा पहिले बच्चालाई ड्रेसिगं गरिदिन आग्रह गरे । बच्चालाई पीडा भएकाले अस्पताल पुगेपछि उसलाई केहि रिलिफ गराउन पाए हुन्थ्यो भन्ने लागेको थियो । तर उनले डे«सिगं गर्न मानेनन । आँखामा सामान्य सुन्निएकोले सिटि स्क्यान गर्न पर्छ भन्ने उनको तर्क थियो । अन्य कुनै कुरा उनले सोध्न जरुरी ठानेनन् । त्यसै त्यसै अनेक कुरा बक्न थाले । ‘मलाई कमिशन आउने होइन, फाइदा हुने होइन, सिटि स्क्यान गरेर ।’ एउटा डाक्टरले बच्चाको स्पर्श पनि नगरी संवेदना शुन्य बनेर देखाइरहेको ब्यवहारले मलाई असह्य बनायो । घाइते बच्चाको पीडादायी अनुहारले मलाई झनै घाइते बनाएको थियो । बच्चाको मनोविज्ञानलाई कत्ति पनि हेक्का नराखी डाक्टरको निर्दयी ब्यवहारले मलाई निकै रीस उठ्यो । ‘म इमरजेन्सिको डाक्टर हुँ मैले गर्दिन भनेपछि गर्दिन जहाँ लाने हो लैजा ’ भनेपछि म पनि जंगिए । मैले पनि त्यही भाषामा उसको पेशा प्रति प्रश्न उठाए । एकछिन चर्काचर्कि भयो । डाक्टर प्रतिको सम्मान ह्वात्तै घट्यो डाक्टरको ब्यवहारले वितृष्णा जाग्यो । डाक्टरमा हुनुपर्ने सामान्य गुण पनि उनले देखाउन सकेनन् । डाक्टर हुनुको अहंकारको चरम रुप उनमा स्पष्ट देखिन्थ्यो । सायद दशैको दिन परिवारको साथमा रमाउनु पर्ने समयमा जबरजस्त ड्युटिमा थिए क्यारे ! त्यो छटपटिले उनको आवरणको डाक्टर हस्पिटलमा थियो, तर मन मस्तिष्क र पेशा प्रतिको दायित्व हराएको थियो । अनी रिस र आक्रोश मेरो घाइते बच्चा र म माथि प्रहार गरीरहेका थिए । आफुले पनि पेशाको मर्यादा नाघे अनि मलाई पनि झर्केर बोल्न बाध्य बनाए ।
समय डिस्कस गरेर बस्ने थिएन । बच्चा आत्तिएकाले हामी उसलाई लिएर चरक हस्पिटल पुग्यौ । आकस्मिक कक्षमा डाक्टर मञ्जु थिइन् । बच्चा देख्ने वित्तिकै स्टेथेस्कोप निकालीन् छाति चेकअप गरीन् । आँखा, नाक, कान मोवाइलको लाइट बालेर हेरीन् । बच्चालाई स्पर्श गर्दै गाह्रो भएको छ कि छैन सोधिन । बच्चा बेहोस् भए नभएको, बान्ता गरे नगरेको र नाक कानबाट रगत बगे नबगेको बारेमा जानकारी लिइन् । बाबुलाई त्यस्तो केहि भएको थिएन । अनि एसिस्टेन्टलाई बाबुको ड्रेसिगं गर्न भनिन् । बच्चाको अवस्था सामान्य भएको र आत्तिनु पर्ने अवस्था नरहेको जानाकारी गराइन् । कहिले काहि बच्चाको केशमा पछि पनि असर देखिन सक्ने भन्दै सिटि स्क्यान गर्दा राम्रो हुने उनको सुझाव थियो । डा. मन्जुको डाक्टरी ब्यवहारले केहि राहत मिल्यो । उनले नै रिसेप्सनकी बहिनिलाई जिएमसीमा सिटिस्क्यान चले नचलेको बारेमा बुझ्न लगाइन् । सल्लाह बमोजिम जिएमसि हस्पिटल पुगियो । आकस्मिक कक्षमा डा. विकल भेटिए । उनले बच्चाको बारेमा जानकारी लिए । सिटि स्क्यान गर्ने व्यक्ति बाहिर गएकाले आधि घण्टा कुर्नु पर्ने बताए । रिर्पोट न्यूरोलोजिष्टलाई देखाउनु पर्ने र डाक्टर नभएकाले अर्को अप्सन पनि उनले दिए । हामी बाबुलाई लिएर मनिपाल पुग्यौ । दशैका दिन आकस्मिक कक्षमा विरामीको चाप थियो । अधिकांश हेड इन्जरीका विरामी थिए । डाक्टरहरु निकै व्यस्त थिए । इन्टर्न गरिरहेकी एक डाक्टर काखमा च्यापिरहेको बच्चाको बारेमा बुझ्न आइपुगिन् । बच्चाको प्रारम्भिक शारीरिक जाँच गरेर कार्ड तयार गरिन् । बाबुले छाति पनि दुख्यो भने पछि एक्सरे गर्न सुझाव दिइन् । डाक्टरको सल्लाह अनुसार सबै प्रक्रिया पुरा गर्यौ ।
सिटि स्क्यानको रिपोर्ट लिएर न्यूरोलोजिष्ट डाक्टरलाई लाई देखायौ । सबै रिर्पोट सामान्य रहेको डाक्टरले बताइन् । आँखा वरिपरि निलो भएकाले एकचोटि आँखा अस्पताल लगेर जाँच गर्न सुझाव दिइन् । भोलि पल्ट हिमालय आँखा अस्पताल लगेर जाँच गर्यौ । आँखामा भित्र गहिरो चोट नभएको बाहिर देखिएको निलो डामहरु विस्तारै निको हुने डा. गोविन्द नाथ योगिले बताए मन शान्त भयो । सँगसँगै घटनाको बारेमा बुझेर फोन मार्फत पटक पटक सल्लाह सुझाव दिएर सात्वता दिने बाल रोग विशेषज्ञ डा. रामचन्द्र बाँस्तोलाई पनि हृदय देखि धन्यवाद दिदै सम्मान ब्यक्त गर्न चाहान्छु ।
मन शान्त भएपछि पर्सिपल्ट सपरिवार जीपमा बागलुङ पुगेंउ । द्धादशीको दिन आमाको हातबाट टिका र आर्शिवाद ग्रहण गरेंउ । माता भवानीको कृपाले ठुलो दुर्घटनाबाट बाबु छोरा जोगिए । त्यस्तो ठूलो गम्भिर चोट लागेन । तर आत्तिएको मन लिएर डाक्टरको शरणमा पुग्दा ओम हस्पिटलका डा. अमृतले जुन ब्यवहार देखाए त्यो भने भुल्न नसकिने पल बनिरह्यो । जब साथिभाईले दशै कस्तो भयो भनेर प्रश्न गर्छन । अनि दशैको दिन भएको दुर्घटना र आकस्मिक कक्षका डाक्टरको व्यवहारले झसंग गराउँछ । विर्सन खोजेर पनि सक्दिन । चरक हस्पिटलको इर्मेजेन्सिकी डा. मञ्जुले देखाएको ब्यवहारले डाक्टर प्रति सम्मानभाव उर्लेर आउँछ भने सिटि स्क्यानको विकल्प नदेखेका र बच्चाको मनोविज्ञानमाथि प्रहार गर्ने ओम हस्पिटलका डा. अमृतको ब्यवहारले वितृष्णा जगाउँछ । एउटा डाक्टरले सिटि स्क्यान गर्नु पूर्व देखिने लक्षणका बारेमा सोध्नु आवश्यक हो कि होइन ? ८ वर्षको बच्चा थिलथिल भएको घाउ लिएर अस्पताल पुग्दा मल्हम लगाएर पीडा कम गराउनु र त्यसपछिको प्रक्रियाको बारेमा अभिभावकलाई भन्नु पर्ने कर्तब्य डाक्टरको होइन र ? ‘सिटि स्क्यान गरेर मलाई कमिशन आउँदैन क्यारे’ भन्ने शब्दको बारम्बार प्रयोगले उनी कस्ता डाक्टर हुन् ?
दशै सकियो । समग्रमा राम्रो भयो । तर दशैको दिन भएको दुर्घटना र ओम हस्पिटलका इर्मेजेन्सीका डाक्टर अमृतको संवेदना शुन्य र निर्दयी ब्यवहारले आज पनि मन दुखिरहेको छ ।

 

FacebookTwitterGoogle+PrintShare