नेकपा एमालेका स्थायी समिती सदस्य तथा प्रभावशाली नेता किरण गुरुङ यतिबेला प्रदेश नम्बर ४ को प्रतिनिधिसभा र प्रदेश सभाको नर्वाचनमा व्यस्त छन । प्रदेश नम्वर ४ को भावी मुख्यमन्त्रीका रुपमा हेरिएका एमाले नेता किरण गुरुङ तनहुँ क्षेत्र नम्वर २ (ख) वाट प्रदेश सभामा उमेद्वार बनेका छन ।

विद्यार्थी अवस्थादेखि नै राजनीतिमा होमिएका गुरुङ वामपन्थी आन्दोलनमा लागेर दश वर्ष भन्दा लामो समय भूमिगत जीवन बिताएका व्यक्ति हुन । तनहुँ क्षेत्र नं. ३ बाट पहिलो संविधान सभामा निर्वाचित गुरुङ २०४८ सालको आम चुनावमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए । निरन्तर जनताको पक्षमा लागेर राजनीति गर्दै आएकाले आफूलाई जनताले पुन जिताउने उनको बिश्वास छ ।

२०६४ सालको संविधान सभा चुनावमा तनहुँ क्षेत्र नम्बर ३ बाट अत्यधिक मतले विजयी गुरुङले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा वनमन्त्रीको जिम्मेबारी पाएका थिए । गण्डकी धौलागिरी क्षेत्रका पुराना र शिर्ष नेता गुरुङ एमालेको गत महाधिवेशनमा उपाध्यक्ष पदमा चुनाव लडेका थिए ।

उनै गुरुङसंग गरिएको संक्षिप्त कुराकानी

 

प्रदेश नं ४ मा निर्वाचनको तयारी कस्तो  छ ?

देशभरका ३२ जिल्ला अन्तर्गत हाम्रो प्रदेशका ६ बटा जिल्लाहरुमा पहिलो चरणमा ज्यादै उत्साहवद्र्धक तवरले उम्मेदवारी दर्ता भएको छ । वाम गठबन्धनको तर्फबाट संयुक्त रुपमा उम्मेदवारी दर्ता गरिएको छ । उम्मेदवारी दर्ता भए पछाडि चुनावी तयारीका लागि पार्टीहरुका संयुक्त बैठक तथा भेलाहरु भइरहेका छन् । तयारी तिव्र गतिमा अगाडि बढेको छ ।
वामपन्थी गठबन्धनबाट मनोनयन दर्ता गर्दै गर्दा त्यस प्रदेशका केहि जिल्लाहरु जस्तै वाग्लुङ, म्याग्दी र मनाङमा वागी उम्मेदवारी परेको छ, यसले गठबन्धनमा संकट पार्दैन ?

हो, केही छिटपुट जिल्लाहरुका यस्तो समस्या देखिएको छ तर यो समस्या हल हुन्छ । केही ठाउँमा सूचनाको अभावले र कही ठाउँमा केही आशंकाले त्यस्तो भएको हुन सक्छ तर उहाँहरु सबैलाई पार्टीले उम्मेदवारी फिर्ता लिन निर्देशन गरिसकेको छ । वामपन्थीहरुका साझा उम्मेदवारहरुलाई विजयी बनाउन उहाँहरुले आफ्नो उम्मेदवारी अबश्य फिर्ता लिनुहुनेछ । यसबाट गठबन्धनको भविस्यमा असर पर्न हामीले दिदैनौं ।

म्मेदवारी फिर्ता भएन भने के गर्नुहुन्छ ?

पार्टीका इमान्दार सिपाहीहरुले उम्मेदवारी फिर्ता नलिने भन्ने प्रश्नै उठ्दैन । फिर्ता गर्नुहुन्छ । यदी फिर्ता भएन भने आज अटेरी गर्नेहरुलाई भोलि पार्टीले कुनै पनि जिम्मेवारी दिने छैन । उहाँहरुमाथि पार्टीले अन्ततः कारबाही गर्नेछ तर मलाई विश्वास छ, त्यसो गनुपर्ने अवस्था आउने छैन ।

यो निर्वाचनमा बामगठबन्धन आवश्यक थियो र ? यसो गर्दा एमालेका धेरै नेता कार्यकर्ता माथि अन्याय भएन र ?

यो गठबन्धन समयको माग हो, आम जनताको चाहना हो । अबश्यनै, गठबन्धको कारण धेरै योग्य साथीहरु उम्मेदवार बन्नबाट बञ्चित हुनुभएको छ । उहाँहरुको बारेमा पार्टीले ज्यादै गम्भीरतापूर्वक सोचेको छ । यस पटक त्याग गर्ने कमरेडहरुलाई पार्टीले उचित व्यस्थापन गर्ने छ । झट्ट हेर्दा उहाँहरु माथि अन्याय भएको जस्तो देखिए पनि उहाँहरुको त्यागको जगमा नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने महान अभियान सफल हुदैछ र समाजवाद निर्माणको बाटो सुनिश्चित बन्दै छ । त्यसैले अन्यायको अनुभूति होइन एउटा युगीन अभियानको आफूलाई एउटा अभियान्ता सम्झेर सबैले गौरवबोध गरौं ।

प्रदेश नम्बर ४ मा स्थानीय निर्वाचनको परिणाममा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो थिए । एमाले र माओवादीको संख्या जोड्दा पनि कांग्रेस अगाडि नै छ ।

के यो प्रदेशमा वामपन्थी गठबन्धनको सरकार बन्छ त ?

स्थानीय तह निर्वाचनको परिणाम एउटा कालखण्डको सत्य हो भने यस निर्वाचनको अवस्था र परिणाम अर्को सत्य हो । आजको अवस्थामा यस प्रदेशमा वामपन्थी गठबन्धन ज्यादै मजबुत अवस्थामा छ । त्यसैले अन्य प्रदेशमा जस्तै गरि यस प्रदेशमा पनि दुई तिहाई बहुमत सहित हामीले बामपंथीहरुको सरकार बनाउछौं ।

त्यसो भए त्यो सरकारको नेतृत्व कसले गर्छ ? पार्टीको प्रदेश संयोजक भएको हिसावले तपाईले हो ?

यस बारेमा पार्टीले अहिलेसम्म आधिकारिक निर्णय गरेको छैन । पार्टीको बर्तमान जिम्मेवारी र अन्य धेरै कारणले मेरो यसमा दावा स्वभाविक हो । अघिल्ला केही अनौपचारिक छलफलहरुमा यसमा चर्चा चलेका केही कमरेडहरु स्वयंले मलाई मुख्य मन्त्री बन्नुहोस् पनि भन्नु भएको छ । त्यसकारण पार्टीले यो जिम्मेवारी मलाई नै दिन्छ भन्नेमा म पूर्ण विश्वस्त छु । मैले त्यस हिसावले यस प्रदेशलाई देशकै नमूना प्रदेश बनाउने गरि केहि योजनाहरु सोचेको पनि छु ।

कस्ता योजनाहरु सोच्नु भएको छ ?

अहिले पार्टी केन्द्रले घोषणा पत्र तयार पार्दैछ । त्यसैको जगमा हामीले प्रदेशको पनि घोषणा पत्र बनाउँछौं । प्रदेश सरकारका केही परिकल्पनाहरु हामीले त्यसमा ल्याउँछौं । यस प्रदेशको विशिष्टतामा आधारित केहि कामकाजी र मुर्त योजनाहरु ल्याउने तयारीमा हामी छौं । ती सबै योजनाहरु घोषणापत्र सार्वजनिक गर्दा थाहा पाउनुहुने छ ।