उम्मेदवारको चित्र र चरित्र हेरेर मतदान गर्न आग्रह

पोखरा, २२ चैत । स्वतन्त्र पत्रकार संघ कास्कीले आसन्न पत्रकार महासंघको निर्वाचनमा चार पदाधिकारीमा उम्मेदवारी दर्ता गरेको छ ।
संघकातर्फबाट सचिवमा असफल गौतम, कोषाध्यक्षमा ओम उपाध्याय, खुला सदस्यमा सुरेशराज अधिकारी र वीरेन्द्र सापकोटाले उम्मेदवारी दिएका छन् ।

उम्मदेवारी दर्तापछि निर्वाचन परिचालन समितिद्वारा आयोजना गरिएको सभाका वक्ताले निर्वाचनमा पार्टीभन्दा माथि उठेर मतदान गर्न आग्रह गरेका छन् ।

निर्वाचन परिचालन समिति संयोजक कृष्णप्रसाद बास्तोलाले श्रमजीवि, इमान्दार र निष्ठावान पत्रकारलाई मतदान गरी व्यावसायिक पत्रकारिताको मर्यादा राख्न मतदातालाई आग्रह गरे ।

सभालाई सम्बोधन गर्दै सचिवका उम्मेदवार असफल गौतमले एउटा श्रमजीवि पत्रकारले अर्को श्रमजीविको कर्मलाई सम्मान गर्ने सन्दर्भ चुनाव भएको बताए । गौतमले पत्रकारको पेशागत हितका लागि पार्टी भन्दा उम्मेदवारको चित्र र चरित्र हेरेर मतदान गर्न आग्रह गरे ।

कोषाध्यक्षका उम्मेदवार ओम उपाध्यायले श्रमजीवि पत्रकारको कर्मको सम्मान र बाटो बिराएर हिँडेको नेपाली पत्रकारिता शुद्धिकरणका लागि आफूले संस्थाको नीतिअनुरुप उम्मेदवारी दिएकाले सम्पूर्णलाई मतदान गरेर सहयोग गर्न सुझाए ।

खुला सदस्यका उम्मेदवार सुरेशराज अधिकारीले पछिल्लो युवा पुस्तालाई नेतृत्वमा पु¥याएर नीति निर्माण तहमा साझेदारी र खराब आचरणका विरुद्ध खबरदारी गर्न आफू निर्वाचनमा होमिएको बताए ।

खुला सदस्यका अर्का उम्मेदवार वीरेन्द्र सापकोटाले आफ्नो नेतृत्व र विकासका लागि महासंघको निर्वाचनमा सहभागिता अपरिहार्य देखेर आफू चुनावमा उम्मेदवारी दिएको बताए ।

सभाका संघका पार्षद् नारायण कार्की, उदयबहादुर अमात्य, यज्ञप्रसाद बास्तोला, बालकृष्ण सुवेदी, सचिव गंगासागर उपाध्याय, सदस्य सुकु हिराचन, राधा ढकाल, पितम सेनलगायतले मन, वचन र कर्मले उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।

स्मरण रहोस् महासंघको केन्द्रीय निर्वाचनमा संघबाट केन्द्रीय निर्वाचनमा खुला र अपाङ्ग सदस्यका साथै केन्द्रीय अध्यक्षमा उम्मेदवारी रहेको छ ।

Facebook Comments Box