‘नियम विपरीतका गतिविधि गर्नु नै प्याराग्लाईडिङ दुर्घटनाका कारण हुन्’

जमुना वर्षा शर्मा
साहसिक खेलको शहर हो पोखरा । कोरोना भाइरसको महामारी बीच पनि आन्तरिक पर्यटकले असाध्यै रुचाएको साहासिक खेल हो प्याराग्लाइडिङ । हावामा कावा खाँदै चराजसरी उड्न चाहानेहरुको भीड कास्कीको सराङ्कोटको डाँडोमा देख्न सकिन्छ । मङ्सिर ८ गते भएको प्याराग्लाइडिङले दुर्घटनाले भने उडान गर्न चाहानेहरुलाई एकप्रकारको डर पैदा गराइदिएकोछ ।
पोखराको आकाशमा प्याराग्लाइडिङ उड्न थालेको दुईदशक (१९९९ देखि) नाघिसकेको छ । यो अवधिमा धेरैपटक प्याराग्लाइडिङ दुर्घटनामा परेको छ । यस अघिका दुर्घटनामा सोलो (एकल) उडानका वा प्रशिक्षार्थी पाइलटहरु दुर्घटनामा पर्ने गरेका थिए तर यसपाली भने अनुभवी टेन्डम पाइलटले नै ज्यान गुमाए । गत सोमबारको दुर्घटनामा परेका प्यारापाइलट राजु गैह्रे नेपाली (३८) आफैंमा अनुभवी पाइलट भएका उनका सहकर्मीहरु बताउँछन् ।
विगत ८ वर्षदेखि पोखराको आकाशमा उडिरहेका हिमालय स्काइ एडभेन्चर प्याराग्लाइडिङ कम्पनिका सञ्चालक एवम् प्यारापाइलट माधव तिवारी पाइलटले आफ्नो अनुशासन र उडानका नियमबाहिर जाँदा दुर्घटना हुने बताउँछन् । उनले भने, “सामान्य अवस्थामा दुर्घटना हुँदैन, कहिलेकाहीँ मौसमको खराबीले पनि हुन सक्छ नत्र, उडान सुरक्षित नै हुन्छ । उडानको समयमा के गर्ने के नगर्ने नियमहरु हुन्छन् । ओभर कन्फिडेन्स भएर नियम विपरीतका गतिविधिनै दुर्घटनाका कारण हुन् ।” तिवारी पाइलटनै बढी संवेदनशील भएर उडान गर्नुपर्ने बताउँछन् । भन्छन्, “उडानबाट यात्रुलाई मनोरञ्जन दिने हो तर कतिपय पाइलट साथिहरु आकाशमा उडिरहेको बेला अन्य गतिविधि गर्दैै सुरक्षा संवेदनशीलता तोड्नुु हुन्छ, यस्तो बेला दुर्घटनाको कारण बन्न सक्छ ।” उनले उडान समयमा फूल पात टिपेर दिने गर्दा दुर्घटना निम्तिन सक्ने भएकाले यस्तो गतिविधि गर्न नहुने बताए । गत हप्ता अनुभवी पाइलट साथीले ज्यान गुमाउँदा मर्माहत भएको सुनाउँदै अब सबै प्यारापाइलट सतर्क र सचेत हुनुपर्ने बताए ।
पोखराको आकाशमा १२ वर्षदेखि उडानको अनुभव बटुलेका अर्का पाइलट दूर्योधन खड्का साहसिक खेलमा जोखिम मोल्नु पर्छ भन्ने मानसिकताले पनि कतिपय अवस्थाहरु नियन्त्रण बाहिर जाने गरेको बताउँछन् । “कोही कोही यात्रुले अलि बढी जोखिम मोल्न रुचाउने र पाइलटलाई अलि बढी प्रेसर दिने गर्छन । यात्रुको सबै अवस्थालाई स्वीकार्नु पर्छ भन्ने हुँदैन, पाइलटले पनि जोखिमको अवस्थालाई आँकलन गर्न सक्नुपर्छ ।”–उनले भने । उनले कहिलकाँही टेकअफ गर्दा यात्रु नियन्त्रणमा रहन नसक्दा पनि दुर्घटना हुन सक्ने तर हावामा उडिसकेपछि सामान्य अवस्थामा दुर्घटना हुने सम्भावना एकदम न्यून हुने उनको अनुभव छ । उनले एक अनुभवी पाइलट साथीले ज्यान गुमाएको घटनाले निकै नरमाइलो लागेको बताए ।
हवाई खेलकुद संस्था (एनएए)का अध्यक्ष कृष्ण भण्डारी उडानका समयमा फूल, पात टिप्ने र पानी छुने जस्ता गतिविधिले हुने गरेको सुन्नमा आएको बताउँछन् । “मङ्सिर ८ को दुर्घटनाको विषयमा छानबीन समिति गठन भएको छ । एक महिनामा सत्य तथ्य बाहिर आउला, पछिल्लो समय आकाशमा फुल टिप्ने दिने गतिविधि बढेको भन्ने सुनिएको छ । यसमा अब नियन्त्रण हुन्छ ।” भण्डारीले भने । प्याराग्लाइडिङ उडानको दुई दशकमा व्यवसायिक उडानबाट ४ ÷५ वर्ष अघि एक जना यात्रुको र अहिले टेन्डम पाइलटको ज्यान गुमाएको उनको भनाइ छ ।
उनका अनुसार २०५९ मा हवाइ खेलकुद संस्था (ना) स्थापना भएको र २०७५ साल चैत्रबाट नागरिक उडड्यन प्राधिकरणले ‘ना’लाई अनुगमन, लाइसेन्स वितरण र नवीकरण गर्ने अधिकार प्रदान गरेको हो । गत सोमबारको दुर्घटनामा टेण्डम पाइलटको ज्यान गएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । प्राधिकरणका एयर ट्राफिक सर्भिस अफिसर अनुप जोशीको संयोजकत्वमा प्याराग्लाइडिङ पाइलट दीपक थापा र प्राधिकरणका अधिकृत देवराज सुवेदी सदस्य रहने गरि छानबिन समिति गठन गरेको हो । समितिले ३० दिनभित्र प्राधिकरणलाई प्रतिवेदन पेश गर्नेछ । संस्थाबाट प्याराग्लाइडिङ उडान अनुमति लिएका तीनसय ३८ प्यारापाइलट छन् जसमा १२ महिला छन् । बन्दाबन्दी अगाडि विदेशी पाइलट भएपनि अहिले नेपाली मात्रै रहेका छन् । पोखरामा ६१ प्याराग्लाइडिङ कम्पनि छन् भने एक अर्ब बढीको लगानी रहेको छ ।