Trending

पर्यटन व्यवसायी महिलालाई डिजिटल मार्केटिङ तालिम


पोखरा, ३० माघ  

पर्यटन क्षेत्रलाई  प्रविधि मैत्री बनाउनका लागि पोखरा पर्यटन व्यवसायी महिलालाई डिजिटल अनलाइन सम्बन्धि दुई दिने तालिम प्रदान गरिएको छ  ।
पर्यटन व्यवसायी महिला संघ (टेवान)को आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवद्र्धनमा संघ आवद्ध सदस्यहरुलाई प्रविधिको सहि प्रयोगबाट व्यवसायलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिइएको थियो ।
तालिमको उद्घाटन सत्रमा पोखरा महानगरपालिका वडा नं ६ का अध्यक्ष जगत पहारीले पर्यटन क्षेत्रमा व्यवसायी महिलाको योगदानको महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो  । उहाँले विभिन्न जिम्मेवारी तथा भूमिकालाई व्यवस्थापन गर्ने कला महिलामा रहेको बताउँदै  डिजिटल मार्केटिङ सम्बन्धि तालिमले थप ज्ञान हासिल गराउने विश्वास व्यक्त गर्नुभयो ।
 नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले समयको माग अनुसार प्रविधिको विकासमा ध्यान दिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय अधिकांश पाहुनाले सोसल साइटको प्रयोग गर्ने भएकाले व्यवसायीले पनि यस सोसल साइडको माध्यमबाट व्यवसायको प्रवद्र्धनमा जोड दिनुपर्ने उहाँको भनाइ थियो ।
पोखरा पर्यटन परिषदका महासचिव रामचन्द्र शर्माले पर्यटन फराकिलो क्षेत्र भएकाले यसमा आवद्ध व्यवसायीहरुमा प्रविधिको ज्ञान  हुन जरुरी रहेको बताउनुभयो । उहाँले समय अनुसारको हरेक क्षेत्रका अब्बल राख्दै आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नुपर्ने उहाँको भनाइ थियो ।
संघमा संस्थापक अध्यक्ष लक्कि कार्कीले ज्ञान र सीप हुने हो भने महिला हरेक क्षेत्रमा प्रतिष्पर्धा गर्न सफल हुने धारणा राख्नुभयो । उहाँले अरुमा निर्भर भएर नभई आफै सवल हुने सके महिला माथि हुने हिंसापनि कम हुने विश्वास व्यक्त गर्नुभयो ।
संघका कार्यवाहक अध्यक्ष कमला गिरीले व्यवसायिक सफलता हासिल गर्नका लागि महिलाको दक्षता तथा क्षमता अभिवृद्धि आवश्यक रहेकाले तालिमको आयोजना गरिएको बताउनुभयो ।
दुईदिने सो तालिममा प्रशिक्षक उज्जव पौडेले डिजिटल मार्केटिङका फाइदा र यसको प्रयोगको बारेमा प्रशिक्षण दिनुभएको महासचिव शोभा पाण्डेले जानकारी दिनुभयो । कार्यक्रमका संयोजक अनिता खड्काले संस्थाका गतिविधि र तालिमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो । खड्का अनुसार  कार्यक्रममा ७० जना महिलाको सहभागिता रहेको थियो ।  

Facebook Comments