पोखरामा फुडमाण्डूको सेवा विस्तार

पोखरा २३ पुस
नेपालको पहिलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले पहिलोपटक काठमाडौं बाहिर पोखरामा सेवा बिस्तार गरेको छ ।
कम्पनीका बजार व्यवस्थापक श्यामरत्न मालीले बिहीबार पत्रकार सम्मेलनमार्फत पर्यटकीय नगरी पोखरामा सेवा बिस्तार गरिएको जानकारी दिनुभयो । उहाँले ग्राहकको मागलाई ध्यान दिदै काठमाडौं बाहिर पहिलो पल्ट पोखराबाट सेवा बिस्तार गरिएको बताउनुभयो । “ एक दशकको अनुभव सहित गुणस्तरीय सेवा सहित हामी आएका छौ, अब पोखरेलीले अनलाइनबाटै फुडमाण्डुका खानेकुराहरुको अर्डर गर्न सक्नुहुनेछ ।”
मालीका अनुसार फुडमाण्डूले हाल ३० भन्दा बढी स्थानीय रेष्टुरेन्ट तथा होटलहरुसँग सहकार्य गरेको छ भने सन् २०२१ लाई सेवा विस्तारको वर्षको रुपमा विभिन्न ठाउँमा पुर्याउने योजना बनाएको छ ।
कम्पनीका संस्थापक मनोहर अधिकारीले आफूहरुले पहिलेबाट नै पोखरामा सेवा विस्तार गर्ने योजना बनाएपनि कोभिड १९ लगायतका कारणले विस्तारमा ढिला भएको जानकारी दिनुभयो । ‘हामीले २०२० मा नै देशका विभिन्न स्थानमा सेवा बिस्तार गर्ने लक्ष्य लिएका थियौं, तर कोभिड १९ को कारणले गर्दा आफ्नो ध्यान अन्य प्रमुख विषयमा केन्द्रित भयो,’ उनले भने । अधिकारीले सन् २०१० बाट शुरु गरिएको फुडमाण्डुको अनलाइन सेवाले ग्राहकले मन जित्दै गएकाले अब देशका अन्य स्थाबाट पनि सेवा दिन योजना अनुरुप काठमाडौ बाहिर पोखराबाट शुरु गरिएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै रेबान पोखराका अध्यक्ष लक्ष्मण बरालले पोखरामा फुडमाण्डूले सेवाले पोखरेली ग्राहकलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले फुडमाण्डुको सेवा उपलब्ध हुँदा रेष्टुरेन्टलाई समेत व्यापार विस्तार हुन सहज हुने बताउनुभयो ।
सेवा विस्तारको अवसरमा फुडमाण्डुले फुडमाण्डूले पोखरेलीहरुलाई जनवरी ३१ सम्म ३० प्रतिशत छुट दिने घोषणा समेत गरेको छ ।