Trending

प्रदेश खेलकुद परिषद गण्डकीका सदस्यहरुलाई नेतृत्व विकास प्रशिक्षण

पोखरा साउन १८ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पोखरामा अभिमुखीकरण तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

पोखरामा उपलव्ध परिषदका सदस्य तथा कर्मचारीहरुलाई उक्त प्रशिक्षण दिइएको हो । उक्त अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा भिजनरी इन्टरनेशनलका सिइओ तथा ‘मोटिभेटर’ इन्द्र गुरुङले प्रशिक्षण दिएका थिए । सो अवसरमा उनले नेपालमा व्यवसायिकता नभएका कारणले नै नेतृत्वमा असफलता देखिएको बताए ।

नेतृत्व क्षमताका लागि आफू संग हुनुपर्ने गुण, विषयको अध्ययन संगै त्यसलाई प्रवाहिकरण गर्ने क्षमता भएमा मात्रै सफलता हासिल हुने गुरुङले बताए । उनले भने–“नेतृत्वमा सिर्जनशिलता आवश्यक मात्रै होइन परिणामुखी नेतृत्व नै असल नेतृत्वको सुचक हो चाहे त्यो व्यक्तिमा होस वा संस्थामा ।” नेतृत्वदायी शैली जिवनको हरेक पाटोमा आवश्य रहने कुरामा जोड दिंदै गुरुङले भने–“नेतृत्वमा हुनेहरु जहिले पनि सचेत हुन आवश्यक, त्यो सचेतना आफै भित्र निहित छ ।”

सो अवसरमा बोल्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले प्रदेश खेलकुद परिषद सिमित स्रोतका वावजुद पनि प्रदेशको खेलकुद विकासका लागि निरन्तर अघि बढ्ने बताए । उनले भने–“हामी संग बजेटको अभाव छ भन्दैमा हात बाँधेर बस्ने अवस्था छैन, हामी संग जे जति छ त्यसको भरपुर सदुपयोग गर्दै दश वर्ष भित्रमा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने योजनाका साथ अघि बढ्दैछौं ।”

प्रदेश खेलकुद खेलकुद विकास, संरक्षण, सम्व्रद्धनका लागि “राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरण” को अभियान साथ अघि बढेको बताउँदै सदस्य सचिव गुरुङले अब चाँडै नै उत्कृष्ट प्रशिक्षक उत्पादन गर्ने तर्फ ध्यान केन्द्रित गरिने बताए । सदस्य सचिव गुरुङले वार्षिक कार्यक्रम अनुसार विभिन्न खेलकुद कार्यक्रम संगै युवा तथा खेलकुद मन्त्रालय गण्डकी संगै हातेमालो गर्दै खेलाडीलाई स्वरोजगार अभियानमा समेत अघि बढाइने लक्ष्य रहेको बताए ।

प्रदेश खेलकुद परिषद गण्डकीको सल्लाहाकारमा गुरुङ

प्रदेश खेलकुद परिषद गण्डकीको सल्लाहाकारमा ‘मोटिभेटर’ इन्द्र गुरुङ मनोनयन भएका छन । प्रदेश खेलकुद परिषद गण्डकीको कार्यकारी समितीको हालै सम्पन्न बैठकले गुरुङलाई मनोनयन गरेको हो । भिजनरी इन्टरनेशनलका सिइओ समेत रहेका उनी नेपाल ओलम्पिक कमिटी साइकोलोजी कमिसनका चेयरपर्सन समेत हुन । गुरुङ प्रखेप गण्डकीको पहिलो सल्लाहाकार समेत हुन ।

सदस्य सचिब तेज बहादुर गुरुङबाट मनोनयन पत्र बुझ्दै गुरुङले आफू पनि प्रदेश खेलकुदको सल्लाहाकार जस्तो गरिमामय पदमा आशिन हुन पाउँदा गौरव लागेको बताउँदै परिषदले तय गरेको “राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद”को नारामा एक ढिक्का भएर प्रदेश खेलकुदको विकासमा अघि बढ्ने बताए ।

Facebook Comments Box