Trending

प्रविधिमैत्री व्यवसायका लागि महिला पर्यटन व्यवसायी मञ्चको डिजिटल मार्केटिङ तालिम


पोखरा ३ फागुन
पर्यटन ब्यवसायलाई प्रविधिमैत्री बनाउनका लागि पोखराका महिला पर्यटन व्यवसायीलाई डिजिटल अनलाइन सम्बन्धी तालीम प्रदान गरिएको छ । महिला पर्यटन व्यवसायी महिला मञ्च (ओटेफ)को आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवद्र्धनमा सङ्घमा आवद्ध सदस्यलाई डिजिटल मार्केटिङ तालिम प्रदान गरिएको हो ।
तालिमको समापन समारोहमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले प्रविधि मैत्री व्यवसाय अहिलेको आवश्यकता भएको जनाउँदै प्रविधिको सही प्रयोगबाट व्यवसायलाई प्रवद्र्धन गर्न सकिने धारणा राख्नुभयो । उहाँले पछिल्लो समय अधिकांश पाहुनाले सोसल साइटको प्रयोग गर्ने भएकाले त्यसबारे व्यवसायीले आफ्नो सेवा सुविधा लगायतका विषयमा जानकारी दिन सके व्यवसाय प्रवद्र्धन हुँदै जाने बताउनुभयो । उहाँले वर्तमान अवस्थामा अधिकांशको हातमै भइराख्ने मोवाइलएपको प्रयोगबाट संसार भर व्यवसायको बारेमा जानकारी दिन सकिने र तालिम पश्चात व्यवसायी महिलाले सामाजिक सञ्जालको प्रयोगबाट आफ्नो व्यवसायलाई मार्केटिङ्ग गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा होटल संघ नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटन क्षेत्रमा डिजिटल मार्केटिङ सम्बन्धी तालीम अपरिहार्य हुँदै गएको र घरमै बसेर प्रविधिको प्रयोगबाट विश्वव्यापी रुपमा व्यवसाय प्रवद्र्धनका लागि सघाउ पुग्ने बताउनुभयो ।
नेपाल एसोसिएसन टुर्र एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले सहि समयमा सहि निर्णयको आवश्यता औल्याउँदै समयानुकुल व्यवसायका लागि डिजिटल मार्केटिङ्गको आवश्यकता माथि जोड दिनुभयो ।
संस्थाका अध्यक्ष पार्वती पाण्डेले व्यवसायी महिलाको नेतृत्व व्यत्तित्व विकासका कार्यक्रमसँगै व्यवसायिक क्षमता विकासका लागि प्रविधि मैत्री तालिमको आवश्यकता महसुुस गरी तालिम प्रदान गरिएको बताउनुभयो । उहाँले प्रतिष्पर्धाको युगमा गुणस्तर सेवा प्रवाहका लागि प्रविधिको उच्चतम र सहि प्रयोगको आवश्यकता र खाँचो औल्याउनुभयो ।
दुई दिने सो तालीममा प्रशिक्षक पारस देवकोटा र उज्जल पौडेले डिजिटल मार्केटिङका सैद्धान्तिक र व्यवहारिक प्रयोगको बारेमा प्रशिक्षण दिनुभएकोे महासचिव ममता न्यौपानाले जानकारी दिनुभयो ।
तालिममा सहभागि विष्णु गुरुङ एकता, माया सुवेदी र लक्ष्मी सुवेदीले तालिमको अनुभव सुनाउँदै प्रविधिको युगमा व्यवसायलाई प्रविधिमैत्री बनाएर लैजानको लागि तालिम निकै फलदायी बनेको धारणा राख्नुभएको थियो ।
संस्थाका सचिव एवम कार्यक्रम संयोजक शर्मिला न्यौपानेले प्रविधिको सही प्रयोगबाट व्यवसायलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा संस्थाका ५० जना व्यवसायी महिलाको तालिम प्रदान गरिएको जानकारी दिनुभयो ।

Facebook Comments Box