महिला पर्यटन व्यवसायीको योग शिविर


पोखरा ,१९ असार
महिला पर्यटन व्यवसायी मञ्च ओटेफले संस्थाका सदस्यहरुको मानसिक एवम् शारीरिक स्फूर्तिका लागि आयोजना गरेको १५ दिने योग शिविर समापन भएको छ । पर्यटन क्षेत्रमा क्रियाशिल व्यवसायी महिलाहरुको संस्था ओटेफले कोरोना महामारीका कारण व्यवसाय ठप्प हुँदा यसबाट सिर्जित हुन सक्ने मानसिक तनावसँगै स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर १५ दिने योग शिविरको आयोजना गरेको संस्थाका अध्यक्ष पार्वती पाण्डेले जानकारी दिनुभयो ।
स्वस्थ जीवनका लागि योगको महत्व निकै रहे पनि व्यवहारिक अभ्यास हुन नसकेको जनाउँदै कोरोना महामारीको समयमा योग शिविर यसको महत्वलाई उजागार गरेको बताउनुभयो । उहाँका अनुसार हरेक दिन बिहान साढे पाँचबजेबाट सातबजेसम्मको समयमा भर्चुअल माध्यमबाट योग गुरु दुर्गादेव सुवेदीले योग साधनाको अभ्यास गराउनुभएको थियो । योग गुरु सुवेदीले व्यवसायको क्षेत्रमा सक्रिय महिलाहरुले योग साधनाको महत्व बुझेर शिविर सञ्चालन गर्नु निकै सकारात्मक भएको जनाउँदै दैनिक जीवनमा योगाभ्यास गर्नसके तन मन र मष्तिस्कलाई स्वस्थ राख्न सकिने बताउनुभयो ।
समापन कार्यक्रमा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भटटराईले कोरोना महामारीबाट सिर्जित अवस्थाले धेरै पर्यटनव्यवसायीलाई मानसिक तनाव निम्त्याइरहेको जनाउँदै यसको व्यवस्थापन गर्न योग साधनाको आवश्यकता औल्याउनु भयो । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने योगाभ्यासले शारीरिक र मानसिक स्वास्थ्यलाई सन्तुलनमा ल्याउन सहयोग पुर्याउने बताउनुभयो ।
ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुलीले विभिन्न जिम्मेवारी र भूमिकामा रहेका व्यवसायी महिलाहरुका लागि योगाभ्यासले ऊर्जा प्रदान गर्न सफल भएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मी योग्याभ्यास गर्दा हुने फाइदाको बारेमा आफ्नो अनुभवहरु सुनाउनुभएको थियो ।
कार्यक्रममा अमेरिकाबाट योग गुरु ललित शंकर योगीले पनि योग महत्वको बारे आफ्नो धारणा राख्नुभएको थियो । दैनिक ८० देखी एकसय जनाको सहभागिता रहेको सो कार्यक्रममा देश विदेशबाट पनि सहभागिता रहेको कार्यक्रम संयोजक शर्मिला न्यौपानेले जानकारीदिनुभयो । संस्थाका सचिव ममता न्यौपानले कोरोना कहरको समयमा पनि भर्चुअल माध्यमबाट पर्यटन व्यवसायी महिलाको क्षमता दक्षता अभिवृद्धिका विविध कार्यक्रम सँगै पछिल्लो पटक तनाव व्यवस्थापन र शारीरिक स्फूर्तिका लागि योग शिविरको आयोजना गरेको जानकारी दिनुभयो ।
तस्बिर उपलब्ध छ ।

Facebook Comments Box