वडा नं ११ मा एमाले घरदैलो, उमेद्वार गुरुङ भन्छन्, सुकुम्बासीलाई एक घर एक रोजगारीको ग्यारेण्टी गर्छौं

पोखरा २५ वैशाख ।
स्थानीय तहको चुनावी अभियान अन्तरगत पोखरा ११ को घरदैलो कार्यक्रम अन्तिम चरणमा पुगेको छ । गत वैशाख १७ गतेबाट दिनहुँ जारी घरदैलो अभियानका क्रममा मतदाताबाट आर्शीवाद ग्रहण गरेकाले यसपटक ११ नं वडामा एमालेका उम्मेदवार विजयी हुने पोखरा ११ निर्वाचन प्रचारप्रसार संयोजक मदन सुनारले दावी गरे ।
‘घरदैलोमा हामी जहाँ–जहाँ पुग्यौं, त्यहाँ रहनुभएका आमाबुवा दाजुभाई दिदीबहिनीले यसपाली ढुक्क हुनुस्, हामी तपाईंहरुलाई जिताउँछौं भन्नुभएको छ ।’ उनले भने, ‘यसपटक पोखरा ११ मा एमालेको जित पक्का छ ।’
वडामा रहेका समस्याको पहिचान गरी बुँदागत रुपमा संकलन गरिएको र निर्वाचनपछिसबै समस्याको समाधान गर्न कुनै कसर बाँकी नराख्ने वडा अध्यक्षका उमेद्वार मीनबहादुर गुरुङले बताएका छन् । ‘हामीलाई जुन विश्वासका साथ मत दिने वाचा पोखरा ११ का जनताले गर्नुभएको छ, हामीले उहाँहरुको मत खेर नजाने गरी काम गर्ने वाचा बाँधेका छौं ।’ उनले भने, ‘यसपटक जनताको अपेक्षा र हाम्रो प्रतिवद्धता मेल खाने निश्चित छ ।’ आइतबार तुलसीमार्गस्थित सुकुम्वासी बस्तीमा पुगेर उमेद्वार गुरुङले आफूले जित हासिल गरेमा सुकुम्वासी परिवारबाट १ जनालाई रोजगारी दिने अभियान वडामा सञ्चालन गरिने प्रतिवद्धता समेत जनाएका छन् ।
घरदैलो कार्यक्रम अन्तरगत आइतबार रामेश्वर मार्ग, गजेन्द्र मार्ग, भानु मार्ग ‘क’, शिवशक्ति मार्ग, महाकालेश्वर मार्ग, जनपथ टोल, हिमश्री टोल, रानीपौवा मार्ग, पुरानोधारा र अस्पताल मार्गका मतदातालाई भेटेर उनीहरुका सुझाव संकलन तथा प्रतिवद्धतापत्र थमाएर उमेद्वारको परिचय समेत गरिएको संयोजक सुनारले जानकारी दिएका छन् ।
वडा नं ११ मा एमालेबाट अध्यक्षका उमेद्वार गुरुङ, वडा महिला सदस्य चन्द्रा शर्मा तिवारी, दलित महिला सदस्य हेमाकुमारी नेपाली, र खुल्ला सदस्यमा विष्णुप्रसाद आचार्य र कार्लोस गुरुङ चुनावी मैदानमा छन् ।
पोखरा ११ मा चुनावी अभियान अन्तरगत १ हजार १ सय ११ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरी प्रचार–प्रसारलाई निकै उत्साहपूर्वक रुपमा सञ्चालन गरिएकोे सुनारले बताए ।